चम्पन सांस्कृतिक समूहले अमेरिकामा मनायो अस्टिम्की पर्व

चम्पन सांस्कृतिक समूहले अमेरिकामा अस्टिम्की पर्व मनाएको छ। अमेरिकाको टेक्सासस्थित इर्भिङमा अस्टिम्की पर्व मनाइएको हो। थारू समुदायको पर्वलाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्न अस्टिम्की मनाइएको चम्पन सांस्कृतिक समूहका प्रमुख कोरियोग्राफर दीपक दिपले जानकारी दिए।

कलाकारहरू दीपक दीप, करिश्मा चौधरी, दिव्या चौधरीसहित दिनेश चौधरी, जुनु चौधरी, लखन चौधरीलगायतले अस्टिम्की पर्व मनाएका थिए। अस्टिम्कीसँगै अन्य थारू पर्वलाई पनि प्रवासमा स्थापित गर्दै लैजानुपर्ने दिनेश चौधरीले जानकारी दिए।

अष्टिम्कीको विशेष आकर्षण भनेको ‘अष्टिम्की’ (भित्तेचित्र) हो। यसमा प्रकृति, इतिहास, मिथक तथा दर्शन, सृष्टिकथाजस्ता विषय गहिरो रूपमा पाइन्छ। अष्टिम्की थारू लोककला (ललितकला) को विशिष्ट उदाहारण पनि हो। जुन प्राचीनकालदेखि चल्दै आएको एक मात्र हस्तकला हो। यसलाई थारू भाषामा ‘रचैनाकला’ पनि भनिन्छ।

अष्टिम्की पूजाका लागि घरको बहरी/बह्री (बैठक कोठा) को उत्तरतिरको भित्ता वा डेंह्री/कुठ्ली (अन्न राख्नका लागि बनाइएको माटोको भकारी)लाई ‘ढौरा’ भन्ने एक विशेष प्रकारको माटोले पोतेर क्यानभास बनाइन्छ। र, त्यसमै अष्टिम्की कोरिन्छ। तत्कालीन समयमा अष्टिम्की चित्र गाउँको मुखिया/महटावाँ/बरघरको घरमा बनाइन्थ्यो भने अहिले यो चलन विस्तारै कम हुँदै गएको छ।

भाद्र अष्टिम्कीको दिन थारू समुदायका पुरुष तथा महिला (विशेषगरी महिला) दिनभरी निर्जला व्रत बस्ने र बेलुका महिलाहरू सामूहिक रूपमा अष्टिम्कीमा टिक्ने (प्रत्येक चित्रमा टीका लगाउने। रावणको चित्रबाहेक) प्रचलन छ। टिक्ने काम सकेपछि कृष्ण (कान्हा) लाई मनपर्ने अमिलो, अम्बा, काँक्रा, दही आदि फलाहार गर्ने र रातभरि अष्टिम्की गीत गाइन्छ। त्यसपछि बिहान दियो बालेर फेरि टिक्छन् र आफूले पूजा गरेका सामानसहित नजिकैको खोलामा सेलाउने गरिन्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *