रेशम चौधरीले भने- सबै सम्बन्ध समाप्त भयो, विश्वासमाथिको अघात भयो

नागरिक उन्मुक्ति पार्टीका जन्मदाता रेशम चौधरीले सुदूरपश्चिम मन्त्रिपरिषद् विस्तारमा आपत्ति जनाएका छन्। नागरिक उन्मुक्ति पार्टीबाट टीका थापा मन्त्री बनेपछि उनले आपत्ति जनाउँदै थरुहट आन्दोलनप्रतिको धोका भएको बताएका छन्।

उनले फेसबुकमा धेरैपटक स्टाटस लेखेर सबै सम्बन्ध समाप्त भएको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘सम्बन्ध सबै समाप्त। विश्वासमाथिको अघात। योभन्दा अपराध अरु केही हुन सक्दैन।’ केही दिनअघि मात्रै रेशमले पत्नी एवं पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग सहमति भएको बताएका छन्। उनले फेसबुकमा तस्बिर सार्वजनिक गर्दै पार्टी र सरकार रञ्जिताले चलाउने र सुदूरपश्चिम र लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका थिए।

उनले पार्टीको रणनीति विपरीत अध्यक्ष रञ्जिताले थापालाई मन्त्री बनाएको आरोप लगाएका छन्। ‘नागरिक उन्मुक्ति पार्टी कुनै पनि हालतमा सुप र लुम्बिनी प्रदेशको सरकारमा सहभागी हुन सक्दैन। यो पार्टीको रणनीति विपरीत कार्य हो,’ उनले भनेका छन्।

उनले पार्टी अध्यक्षप्रति लक्षित गर्दै धेरै बेचेको र अब नबिक्ने घोषणा गरेका हुन्। उनले अति भएको भन्दै अब एक महिन आराम गर्ने घोषणा पनि गरेका छन्। उनले नेता-कार्यकर्तालाई पनि जता फाइदा त्यतै लाग्न आग्रह गरेका छन्।

‘जसलाई जहाँ फाइदा हुन्छ उतै लाग्नुस्। तर म पहिचानको आन्दोलनलाई बिस्थापित गर्न सक्दैन। आजको यही दिन देख्नका लागि म आठ वर्ष जेल बसेको रहेछु। मेरो श्री सम्पत्तिमा आगो लागेको सहेँ, तीन वर्ष प्रवास सहेँ। जेल नेल सहेँ। आरोप प्रत्यारोप सहेँ। अब सहन के नै बाँकी छ र? कोही सांसद बने, कोही मेयर बने, कोही मन्त्री बने। म के बनेँ? संघर्ष गर्न सिकेकै छु। गर्नुस्, वजय बन्नुस्,’ उनले भनेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *