नयाँ वर्षको अवसरमा थाकस युएईको वनभोज कार्यक्रम, थारूहरूबीच भयो शुभकामना आदानप्रदान

नेपाली नयाँ वर्षको अवसरमा थारू कल्याणकारिणी सभा युईएले वनभोज कार्यक्रम आयोजना गरेको छ। युएईको अलकुद्रा पार्कमा आयोजना गरिएको वनभोज कार्यक्रममा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको थाकस युएईका सभापति भागरथी कुमार भगतले जानकारी दिए।

सोमबार आयोजित वनभोज कार्यक्रममा युएईमा बस्ने थारू समुदायहरूको बाक्लो उपस्थिति रहेको थियो। विहान ११ बजेदेखि सञ्चालन भएको वनभोज कार्यक्रममा सयौं प्रवासी थारूहरू उपस्थित भई रमाइलो गरेको कार्यक्रम संयोजक जितेन्द्र कुमार महतोले बताए। कार्यक्रममा थाकस युएईका पदाधिकारीसहित कामका सिलसिलामा युएईमा आएका थारूहरूको उपस्थिति रहेको उनले बताए।

सभापति भगतले नेपाली नयाँ वर्षको अवसरमा वनभोज कार्यक्रम आयोजना गरी युएईमा रहेका थारू समुदायबीच भातृत्व सम्बन्ध कायम गर्न खोजिएको बताए। ‘विभिन्न कामको सिलसिलामा हामी यहाँ आएका छौं। विभिन्न चाडवाड र विशेष दिनमा कार्यक्रम गर्न पाउँदा थारूहरू खुसी हुन्छौं। हामी सबैबीच भातृत्वको भावना पनि स्थापित हुन्छ,’ उनले थारुवानसँग भने।

थाकस युएईले प्रवासमा रहेर पनि थारू कला, संस्कृति र भाषाको संरक्षण गर्दै आएको छ। थाकस युएईले माघी, जितियाजस्ता पर्वमा कार्यक्रमम पनि गर्दै आएको छ। थारू समुदायका कलाकार र तथा विशेष व्यक्तिहरूलाई युएईमा बोलाएर सम्मानसमेत गर्दै आएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *