रेशम-रञ्जिताबीच युद्धविराम! दुवैले एकअर्काको अस्तित्व स्वीकारेका हुन्?

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच युद्धविराम गर्ने सहमति भएको छ। नागरिक उन्मुक्ति पार्टीका नेता ठाकुरसिंह थारूलाई साक्षी राखेर रेशमले युद्धविरामको घोषणा गरेका छन्। युद्धविराम भएसँगै पार्टीका नेता-कार्यकर्ताबीच भइरहेको तितक्ता तत्काललाई अन्त्य भएको छ। संरक्षक र अध्यक्षबीचको टकरावले नागरिक उन्मुक्त पार्टीका नेता-कार्यकर्ताहरू पनि विभाजित बनेका थिए।

कसरी भयो सम्भव? आम सर्वसाधारणले अहिले यही प्रश्न गरिरहेका छन्। रेशम-रञ्जिताबीच पार्टी र सरकार चलाउने विषयमा मोटामोटी सहमति भएको देखिन्छ। रेशम चौधरीले फेसबुकमै पार्टी र सरकार दुवै रञ्जितालाई चलाउन दिने सहमति गरेको आश्य प्रकट गरेका छन्। उनले भनेका छन्, ‘महासचिव ठाकुरसिंह थारूलाई साक्षी राखेर पार्टी र सरकार दुबै तिमी (रञ्जिता) चलाउ भन्ने आग्रहका साथ मैले पनि यो फोटो पोष्ट गरेँ।’ यद्यपि उनले लुम्बिनी र सुदूरपश्चिम सरकारलाई दिएको समर्थन भने फिर्ता लिने बताएका छन्। उनले फेसबुकमै लेखेका छन्, ‘हामी छिट्टै लुम्बिनी र सुदुरपश्चिम सरकारबाट समर्थन फिर्ता लिन्छौं।’

रेशम चौधरीको दुई स्टाटसले धेरैलाई दोधारसमेत बनाएको छ। किनकि रेशम-रञ्जिताबीच पार्टी सञ्चालन र वर्तमान गठबन्धनमा सहभागी हुने नहुने विषयमै मत बाझिएको हो। रञ्जिता प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वकै सरकारलाई समर्थन गर्न चाहन्छिन्। रेशम चौधरीले भने गठबन्धन बाहिर बस्नुपर्ने बरु प्रदेशमा कांग्रेससँग मिलेर अगाडि बढ्ने बताउँदै आएका छन्। उनको स्टाटसले यसलाई प्रमाणित पनि गर्छ। जसरी पार्टी र सरकार चलाउन रेशम चौधरीले सहमति जनाएका छन्, त्यसरी नै लुम्बिनी र सुदूरपश्चिम सरकारबाट फिर्ता आउने रेशमको अडानमा रञ्जिता सहमत छिन्? आम सर्वसाधारणले यो प्रश्नसमेत गरिरहेका छन्।

यद्यपि रञ्जिताले शुक्रबार फेसबुकमा लेखेकी छन्, ‘मेरो परिवारप्रति चिन्ता र चासो गर्नुहुने सम्पूर्णप्रति हार्दिक आभार। परिवारमा कुनै समस्या छैन। समस्या छ त तपाईँहरूको दैध चरित्र अनि व्यवहारमा।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *