नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन प्रधानमन्त्रीले उद्घाटन गर्ने, यस्तो छ तयारी

नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन पुस २६ गतेदेखि कैलालीको टीकापुरमा हुँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहालमार्फत् महाधिवेशनको उदघाटन गराउने र राजनीतिक दलका शीर्ष नेताहरूसँगै भारतीय जनता पार्टी (भाजपा)का नेतालाई समेत सहभागी गराउने पार्टीको तयारी छ।

बुधबार कैलालीको धनगढीमा पत्रकार सम्मेलन गर्दै पार्टीका संरक्षक रेशम चौधरीले पुस २६, २७ र २८ गते टीकापुरमा पार्टीको प्रथम महाधिवेशन हुन लागेको बताए। महाधिवेशनमा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्‍घाटन गर्ने उनले बताए।

महाधिवेशनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष सीके राउतसहित शीर्ष नेताहरू महाधिवेशनमा सहभागी हुने उनले बताए। ‘बैठकमा सबै राजनीतिक दलका अध्यक्षहरूलाई निम्ता गरेका छौं। उहाँहरूले सहभागी हुने आवश्वासन दिनुभएको छ,’ उनले भने।

रेशम चौधरीले महाधिवेशनको उद्घाटन सत्रमा भारतीय जनता पार्टी (भाजपा)को प्रतिनिधिको पनि सहभागी हुने बताए। उनले त्यसका लागि भाजपालाई निमन्त्रणा पठाएको बताए।

महाधिवेशनमा देशका ५२ जिल्लाबाट ८ हजार प्रतिनिधिहरू सहभागी हुने बताइएको छ। महाधिवेशनबाट २८ जना पदाधिकारी र २४६ जना केन्द्रीय सदस्य चयन गर्नेछ। पार्टीको विधानअनुसार महाधिवेशनले ५०१ सदस्सीय समिति चयन गर्नसक्नेछ। त्यसमध्ये २५५ जना मनोनीत गरिने रेशम चौधरीले बताए। विधानअनुसार अध्यक्ष, सहध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष गरी २८ जना पदाधिकारी रहनेछन्।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले सोधेको एक प्रश्नमा चौधरीले बाँकी कैद मिनाह गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाबारे बोल्न नमिल्ने बताए।

कानुनलाई सम्मान गरेर जेल बसेको र कानुनी प्रावधानअनुसार नै रिहा भएको बताउँदै चौधरीले मुद्दाबारे प्रतिक्रिया दिन अस्वीकार गरे। ‘कानुनी कुराका बारेमा हामीले केही भन्न हुन्न। कानुनको हामीले सदा सम्मान गर्दै आएका छौं। कानुनलाई सम्मान गरेर जेल गयौँ, सम्मान गरेर उतै बस्यौँ,’ चौधरीले भने, ‘कानुनले रिहा गरिदिएपछि हामी यहाँ आयौँ । त्यसकारणले विचाराधिन मुद्दाकाबारेमा बोल्न मिल्दैन, तपाईंले पनि सोध्न मिल्दैन।’

टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी कैद मिनाह गरिदिएपछि १५ जेठमा कारागारबाट रिहा भएका थिए । राष्ट्रपतिको निर्णयविरुद्ध टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक बलराम विष्टकी श्रीमतीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *