थारूका नाममा खुलेका पार्टीबाट कुनै उपलब्‍धि भएन : सुरेन्द्र चौधरी (भिडियो)

‘नागरिक फस्ट’ अभियन्ता सुरेन्द्र चौधरीले थारूका नाममा खुलेका पार्टीबाट कुनै उपलब्‍धि नभएको बताएका छन्। ललितपुरमा आयोजित नागरिक फस्ट अभियान अन्तर्गतको कार्यक्रममा उनले थारूको पार्टी खोलेर सरकारमा जानेहरूले पनि कुनै उपलब्धि हासिल नगरेको बताए।

‘थारूका नाममा खुलेका पार्टीबाट पनि कुनै उपलब्धि भएन। भलै उहाँहरूले निर्वाचन जित्नुभयो। सांसद बन्नुभयो। सरकारमा पनि जानुभयो। कोही मन्त्री पनि बन्नुभयो। तर के उपलब्धि हासिल भयो त? अहँ केही पनि उपलब्धि हासिल भएन,’ उनले भने।

उनले टीकापुर विद्रोहबाट खुलेको नागरिक उन्मुक्ति पार्टी पनि श्रीमान श्रीमतीको झगडामा सीमित भएको बताए। ‘टीकापुर विद्रोहले एउटा इटा थप्ने काम गरेको थियो। त्यसकै बलमा नागरिक उन्मुक्ति पार्टी पनि जन्मियो। म आफैं पनि त्यो पार्टीबाट चुनावसमेत लडेको थिएँ। तर, आजको दिनसम्म आइपुग्दा त्यहाँ लोग्ने श्रीमतीको झगडामा सीमित भएको छ। पार्टी खोल्दा उठाएको मुद्दालाई सरकारमा जाने नजाने बार्गेनिङ प्वाइन्ट बनाउनुभएको छ। को मन्त्री बन्ने श्रीमती बन्ने कि बाउ बन्नेमा सीमित भएको छ,’ उनले भने।

उनले ठूला दलका नेताहरूमा चेत नभएकै कारण टीकापुर विष्फोट भएको बताए। चेत भएको भए उक्त घटना नै नहुने उनको भनाइ छ। त्यसैले नयाँ तरिकाले सोच्ने बेला आएको उनले बताए। उनले राष्ट्र निर्माणको नारा लिएर नयाँ तरिकाले सोच्नुपर्ने बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *