सुदूरपश्चिममा कैलाश चौधरी बने भौतिक पूर्वाधार विकास मन्त्री

सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी नियुक्त भएका छन्। मुख्यमन्त्री दीर्घ सोडारीले चौधरीलाई भौतिक मन्त्रीमा नियुक्त गरेका हुन्। उनलाई प्रदेश प्रमुख नजिर मियाँले शपथ ग्रहण पनि गराएका छन्।

को हुन् कैलाश चौधरी ?

कैलालीको भजनी नगरपालिका ६ महादिउलीका ३८ वर्षीय सांसद कैलाश चौधरी कैलाली निर्वाचन क्षेत्र नं. १ (क)बाट निर्वाचित भएका हुन् । उनी प्रदेश सभा निर्वाचनमा आफ्नो निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दीर्घराज विनाडीलाई पराजित गर्दै निर्वाचित भएका हुन् । चौधरीले १५ हजार १०१ भोट ल्याउँदा विनाडी १० हजार ३०० मतमा सीमित भए ।

स्नातक तहसम्मको औपचारिक शिक्षा पूरा गरेका चौधरीसँग ८ वर्ष शिक्षण पेसामा रहेको अनुभव छ । उनी कालिकोट जिल्लाको साविक नानीकोट गाविसस्थित पंगेली मावि नुवाघरमा मावि शिक्षक भइ २०६४ देखि शिक्षण पेसामा आवद्ध रहे ।

तर शिक्षा क्षेत्रमा व्याप्त राजनीतिकरणका कारण शिक्षकबाट राजीनामा दिएको उनी बताउँछन् । उनी २०७२ देखि सक्रिय राजनीतिमा आएका हुन् । पहिचानको आन्दोलनबाट उनले राजनीतिक यात्रा सुरु गरेका हुन् ।

०७४ को निर्वाचनमा रेशमको सम्पर्कमा आएका कैलाश रेशमलाल चौधरीको सहयोगी भइ त्यसताका राजपाबाट रेशमलाललाई जिताउनमा लागिपरेका थिए । त्यहीबेला उनीसँग रेशम निकै प्रभावित भए ।

२०७४ को प्रदेश सभा निर्वाचनमा कैलाली १ (क)बाट कृष्णबहादुर चौधरी निर्वाचित भए । रेशमको प्रिय पात्र बनेका कैलाश उनै कृष्णबहारको स्वकीय भइ केही समय काम गरे । तर उनलाई कृष्णबहादुरले केही समयमै हटाएर आफन्तलाई स्वकीयको जिम्मेवारी दिए ।

त्यसपछि केही समय गैरसरकारी संस्थामा जागिरको खोजीमा समेत लागे उनी । तर एक जना आफन्तले राजनीतिमा तिम्रो क्रेज छ भनी सुझाएपछि उनी पुनः राजनीतितर्फ केन्द्रित भए । २०७९ को निर्वाचनमा उनले जित हासिल गरे ।

  • लखन चौधरीबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *