शनिबार कैलालीमा जुट्दैछन् हजारौं मुक्त कमैया र कमलरी

पश्चिम नेपालका मुक्त कमैयाहरूको संस्था मुक्त कमैया समाज नेपालको तेस्रो राष्ट्रिय सम्मेलन कैलालीको लम्कीमा हुने भएको छ। लम्की चुहा नगरपालिका-१ स्थित मुक्त कमैया एकता शिविरमा आयोजना हुने सम्मेलनको तयारी पूरा भएको र शनिबार एक समारोहबीच सम्मलेन शुभारम्भ हुने अध्यक्ष पशुपति चौधरीले जानकारी दिए।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनको पहिलो शनिबार उद्घाटन हुने र दोस्रो दिनको बन्दशत्रबाट नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको उनले बताए। सम्मेलनमा लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ तथा सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर गरी पाँच जिल्लाका पाँच हजार प्रतिनिधि सहभागी हुनेछन्।

मुक्तकमैया, कम्लरी र हलियाको पुनर्स्थापनाका लागि सुदूरपश्चिम सरकारले केही सयमअघि कार्यविधि पास गरेकाले यो पटक उत्साहको सम्मेलन हुने र सम्मेलनमार्फत प्रदेश सरकारलाई धन्यवाद दिनुका साथै कार्यविधि कार्यान्वयनका काम तत्काल अगाडि बढाउन अपिल गर्ने योजना रहेको चौधरीको भनाइ छ।

‘मुक्त कमैया समाजले कमैयाको जीविकोपार्जन, आयआर्जन, रोजगारीका साथै सुरक्षा र अधिकारको सवालमा तीनै वटै तहका सरकारसँग पैरवी गर्ने, समन्वय गर्ने काम गरी रहेको छ। प्रदेश सरकारको निर्णयबाट हाम्रो मिहेनत र पहलकदमीले सार्थकता पाएको अनुभूति भएको छ। सम्मेलनले पुनर्स्थापनाका बाँकी काम टुङ्ग्याउने ‘म्याण्डेट’ सहित नयाँ नेतृत्व चयन गर्नेछ। जसबाट हाम्रो आन्दोलनले नयाँ उचाई दिने अपेक्षा छ,’ अध्यक्ष चौधरीले भने।

पुस्तौँदेखि बँधुवा मजदुरसरह जीवन बिताउँदै आएका कमैयालाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २०५७ साल साउन २ गते मुक्त घोषणा गरेको थियो। मुक्त घोषणा गरेको २३ वर्ष पुग्दासमेत पूर्णरुपमा पुनर्स्थापनाका काम नभएका र सम्मेलनले ति कार्यभार पूरा गर्न दबाब सिर्जनाका लागि महत्वपूर्ण सन्देश प्रवाह हुने अधिकारकर्मी अधिवक्ता बालकृष्ण भट्टराईले बताए।

मुक्त कमैया समाजका अध्यक्ष चौधरीका अनुसार कैलालीमा अझै एक हजार पाँच सय र कञ्चनपुरमा सात सय छुट मुक्त कमैया रहेका छन्। लुम्बिनी र सुदूरपश्चिमका पाँच जिल्लामा ३२ हजार पाँच सय नौ घरपरिवार मुक्त कमैया रहेका छन्। तीमध्ये २५ हजार एक सय ९५ घर परिवारले पाँच धुरदेखि १० कठ्ठासम्म जग्गाको लालपूर्जा पाएका छन् भने छ सय ६१ घरपरिवारको हातमा जग्गा पूर्जा भए पनि जग्गा छैन। एक सय ७३ घरपरिवारलाई लगतबाट नाम हटाएको र दुई हजार तीन सय ७५ घरपरिवारलाई पुनर्स्थापना गर्न बाँकी रहेका मुक्त कमैया समाजले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *