रञ्जिताले खोलिन् अर्को राज- रेशमजीले स्ट्याटस लेख्दा म सँगै छु

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीसँग वैचारिक मतभेद रहेको स्वीकारेकी छन्। तर, फरक विचार भएकै कारण आफूहरूको परिवार नफुट्ने उनको प्रष्टीकरण छ।

नाउपाका संस्थापक रेशम चौधरीले बुधबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै रञ्जितालाई बुझाउन नसकेको बताएका थिए। दिउँसो संसद भवन नयाँ वानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै रञ्जिताले बिहान रेशमले स्ट्याटस लेख्दा आफूँसँगै रहेको बताइन्।

‘हिजो हाम्रोबीचमा छलफल भएको थियो। म र रेशमजीले पार्टीगत रूपमा बसेर छलफल गरेका थियौं। त्यही अनुसार उहाँले लेख्नुभएको हो,’ रञ्जिताले भनिन्। आफूहरुका बीचमा फरक विचार भएकै कारणले परिवार नफुट्ने पनि उनले बताइन्।

‘पार्टीगतरूपमा उहाँ र मेरो मत फरक फरक भएको हो। तर, परिवार छुट्टै कुरा हो। पार्टी छुट्टै कुरा हो। फरक विचारले परिवार फुट्दैन,’ रञ्जिताले दोहोर्‍याइन्, ‘उहाँ (रेशम चौधरी)ले स्ट्याटस लेख्दा म सँगै छु।’

आफूहरुको पारिवारिक सम्बन्धमा कुनै समस्या नरहेको पनि उनले बताइन्। आफूहरु २५ वर्षदेखि सँगै रहेको भन्दै उनले थपिन्, ‘परिवारका हाम्रो त्यस्तो केही पनि छैन।’ पार्टीमा फरक-फरक विचार बोकेकाहरु जोडिने भएकाले त्यसको समुचित रुपमा निरुपण हुने र हुँदै जाने पनि रञ्जिताको भनाइ छ ।

निर्वाचन आयोगले पार्टी अध्यक्षमा अस्वीकृत गरिदिएको विषयलाई रेशमले समेत स्वीकार गरिसकेको रञ्जिताले बताइन्।

‘महाधिवेशन गरेर रेशमजीलाई सर्वसम्मत रुपले अध्यक्ष स्वीकारेको हो। तर, निर्वाचन आयोगले दिएको निर्णय रेशमजीले पनि मानिसक्नुभको छ। किनभने नीति, कानुनभन्दा माथि कोही पनि हुँदैन।’ नाउपा श्रीमानको पार्टी हो कि श्रीमतीको? प्रश्नमा उनले भनिन्, ‘नाउपा जनताको पार्टी हो।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *