नागरिक उन्मुक्तिका बहुमत संस्थापक सदस्य एकमत रहेको दाबी, अध्यक्ष रञ्जिताले दादागिरी देखाएको आरोप

नागरिक उन्मक्ति पार्टी अध्यक्ष एवं संसदीय दलका नेता रञ्जिता श्रेष्ठले सरकारलाई विश्वासको मत दिन निर्देशन दिएलगत्तै संस्थापक बहुमत सदस्यले विज्ञप्ति जारी गर्दै सरकारलाई समर्थन नगर्ने निर्णय गरेका छन्।

संस्थापक सदस्य दामोदर पण्डितले विज्ञप्ति जारी गर्दै केन्द्र सरकारको नयाँ गठबन्धनमा तत्काल सहभागी नहुने र प्रतिपक्षमा बस्ने निर्णय भएको जानकारी दिएका छन्। त्यस्तै सरकारको हकमा वार्ता समितिले विभिन्न दलहरूसँग सहकार्य र समन्वय गरी संवाद अघि बढाउने निर्णय भएको पण्डितको भनाइ छ।

यसैबीच पार्टी अध्यक्षले जारी ह्वीप मान्य नहुने नागरिक उन्मुक्तिका एक नेताले बताए। नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको प्रमुख सचेतक गंगाराम चौधरी रहेको भन्दै अध्यक्षको ह्वीप नलाग्ने ती नेताको भनाइ छ।

‘पार्टीको ह्वीप लगाउने दलको नेताले होइन, प्रमुख सचेतकले हो। के आधारमा उहाँले ह्वीप लगाउनुभयो थाहा भएन। नागरिक उन्मुक्तिका सांसदरूले भोलि विपक्षमा मतदान गर्छन्,’ अन्नपूर्णसँग ती नेताले भने। विश्वासको मत दिने जोकोही सांसदलाई पार्टीले कारबाही गर्ने चेतावनीसमेत दिइएको स्रोतको भनाइ छ।

‘पार्टीको विधान अध्यक्षज्युले पनि मान्नुपर्छ। उहाँले जसरी दादागिरी देखाइरहनुभएको छ। बहुमत सदस्यको निर्णयले उहाँलाई कारबाही पनि हुनसक्छ। उहाँले केन्द्रीय कार्यसमितिको निर्णय मान्नुपर्छ,’ स्रोतले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *