टीकापुर घटनाका थारू राजबन्दीहरूलाई आममाफी होइन, कैद कट्टामात्रै गरिएको हो : रञ्जिता श्रेष्ठ

भूमि, व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठले सरकारले संविधान दिवसको अवसरमा कैदीलाई आममाफी नदिएको बताएकी छन्। संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले आम माफी नभइ कैद कट्टामात्रै गरेको बताएकी हुन्। उनले आफूहरुले अपराधी राजनीतिक तवरबाट छुट्नुपर्छ नभनेको भन्दै यस पटक कसैलाई आममाफी नदिइएको र कैद कट्टा गरेर छुटाइएको बताइन्।

उनले कैद कट्टा गरेर छुटाउनु र आम माफी दिनु फरक भएको दाबी गरिन्। उनले भनिन्, ‘आम माफी एउटा छुट्टै कुरा हो। अदालतबाट दोषी ठहर भएकालाई पनि आम माफी दिने भन्ने कुरा छ। र, अहिले आम माफी नै दिइएको छैन। किनभने यो त कैद कट्टा गरिएको हो। कैद कट्टा गरेर छुटाइएको हो। हामीले क्याविनेट बैठक बस्दा पनि त्यो भनेको छैन। अपराधीलाई राजनीतिक तवरबाट छुट्नुपर्छ भनेका छैनौं। कारागारमा गइसकेपछि कैद कानुनअनुसार भोग्नुपर्छ। यसपटक कसैलाई आममाफी दिइएको छैन। नबुझेको हो। कैद कट्टा हो।’

संविधान दिवसको अवसरमा टीकापुर घटनाका राजबन्दीहरू पनि कैद छुट भएर निस्किएका हुन्। उनीहरूले आममाफी नपाएको मन्त्री श्रेष्ठकै भनाइले पुष्टि गर्छ। यसअघि टीकापुर राजबन्दीहरूलाई कैद छुटमात्रै दिइएको भन्दै केही थारू नेताहरूले विरोध गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *