सांसद अरुण चौधरीको प्रश्न- अहिलेको व्यवस्था मन्त्री बन्नलाई मात्र हो कि किसानको लागि पनि हो?

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीले विभिन्न चरणको आन्दोलनबाट ल्याइएको हालको व्यवस्था मन्त्री बन्नका लागिमात्र रहेको बताएका छन्।
विभिन्न मन्त्रालयको बजेटमाथि भइरहेको छलफलमा भाग लिँदै उनले हालको व्यवस्थाले किसानहरू मारमा परेको बताए।

उनले प्रत्येक बजेटमा सरकारी मल खादको व्यवस्था गर्ने बताए पनि खेतीको समयमा किसानहरू सधैं मारमा पर्दै आएको बताए। ‘यो व्यवस्था ल्याउन हामीले धेरै आन्दोलनहरू गरेका छौं। यो व्यवस्था माननीय मन्त्री बन्नलाई ल्याइएको हो कि किसानको लागि पनि ल्याइएको हो?,’ उनले प्रश्न गरे।

किसानले आफैं पैसा तिर्छु मल खाद देउभन्दा पनि सरकार मुकदर्शक बनेको उनको भनाइ छ। ‘प्रत्येक वर्षको बजेटमा किसानका लागि मल खादको उचित व्यवस्था हुन्छ भन्छ। किसानले आफैँ पैसा तिर्छु भन्दा पनि सरकारले मल दिँदैन। किसान बाध्य भएर भारतबाट युरिया र पोटासजन्य मल ल्याउँछ। तर त्यो मल खाद पनि सरकारीले जफत गर्छ,’ उनले भने।

उनले हालै कैलाली भजनीका १२ जना किसानले ल्याएको युरिया र पोटास मल प्रहरीले खोसिदिएको बताए। ‘यो व्यवस्था हामी नेपालको झन्डा गाडीमा राखेर गुडाउनको लागि ल्याएको हो? किसानका लागि छुट्याइएको अनुदान आसेपासेलाई मात्रै बाँड्ने हो भने यो बजेटको कुनै सार्थकता छैन,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *