६ मन्त्रालयसहित सरकारमा जाने माधव नेपाल पक्षका सांसद मेटमणि चौधरीको उद्घोष

नेकपा (एमाले) का माधव कुमार नेपाल समूहका नेता तथा सांसद मेटमणि चौधरीले आफ्नो समूहले अर्को पार्टी निर्माण गर्ने स्पष्ट पारेका छन्। चौधरीले केपी ओली अध्यक्ष रहेको एमालेबाट निर्वाचनमा जाँदा १६५ निर्वाचन क्षेत्रमध्ये कुनै पनि निर्वाचन क्षेत्रमा जित्न नसकेर समाप्त हुने पोजिसन आउनसक्ने उल्लेख गर्दै आफूहरूले त्यो रिस्क मोल्न नचाहेको पनि स्पष्ट पारे।

आज राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘यदि हामीले अर्को पार्टी निर्माण गर्न सकेनौं भने हामी हाम्रो आफ्नै आँखा अगाडि केपी ओली अध्यक्ष रहेको पार्टी समाप्त भएको देख्नेछौं। म यहीँबाट घोषणा गर्न चाहन्छु यदि हामीले अर्को पार्टी निर्माण गर्न सकेनौं भने, केपी ओली नै यो नेकपा एमालेको अध्यक्ष भैराख्ने हो भने हाम्रो आफ्नै आँखा अगाडि हेर्दाहेर्दै नेकपा एमाले समाप्त भएको देखिन्छ। एमाले १६५ वटा निर्वाचन क्षेत्रमध्ये कुनै पनि निर्वाचन क्षेत्रमा जित्न नसकेर समाप्त भएको त्यो खालको पोजिसन आउनसक्छ। तर, हामी यो रिस्क मोल्न चाहँदैनौं।’

साक्षात्कारमा बोल्दै उनले आफ्नो समूह आज/भोलिभित्रै सरकारमा सहभागी हुने स्पष्ट पारेका छन्। उनले ६ वटा मन्त्रालयसहित सरकारमा जानेबारे आजै निर्णय हुने पनि जानकारी दिए। उनले भने,‘हामीले यति नै संख्यामा मन्त्रालय चाहिन्छ भनेर खोजेको छैन। तर, समानुपातिक प्रतिनिधित्व हुनु नै पर्छ। सम्भवतः मलाई के लाग्छ भने ६ को वरिपरिको मन्त्रालयमा हामी सहभागी हुन्छौं।’

उनले सरकारमा सहभागी हुनेबारे सम्भवतः आजै निर्णय हुने पनि जानकारी दिए। यदि आज नभए आउने हप्तासम्म सरकारमा सहभागी भैसक्ने उनको भनाइ छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *