नागरिक उन्मुक्ति पार्टीको वर्ग चरित्र स्पष्ट छैन : माधव कुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नागरिक उन्मुक्ति पार्टीको वर्ग चरित्र स्पष्ट नभएको बताएका छन्। पार्टीको पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले यस्तो बताएका हुन्। ‘ प्रतिनिधि सभामा ४ सिटका साथ रहेको नागरिक उन्मुक्ति पार्टी जातीय पहिचान र अधिकारमा जोड दिने पार्टी हो। यो पार्टी थारु जातिको पहिचान र अधिकारलाई मुख्य विषय बनाएर सङ्गठित एवं क्रियाशील छ। यसको वर्ग चरित्र स्पष्ट छैन। गणतन्त्र र संघीयताप्रति भने प्रतिवद्ध नै देखिन्छ, प्रतिवेदनमा भनिएको छ।

त्यस्तै उनले राजनीतिक समीकरण वा सहकार्य परिवर्तन हुने संकेत गरेका छन्। नले संसदमा रहेका दलहरू सम्मिलित समीकरणलाई तात्कालिक सहकार्यमात्रै रहेको प्रष्ट पारे।

‘अहिले हामी संसदभित्र रहेका विभिन्न राजनीतिक दलहरू सम्मिलित समिकरणमा पनि छौं। यो समीकरण संयुक्त मोर्चा होइन, तात्कालिक राजनीतिक सहकार्यमात्र हो। यो समीकरण वर्तमान संसदको संरचनाअनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको हो। यो दीर्घकालीन होइन। राजनीतिक परिस्थिति बदलियो भने समीकरण वा सहकार्य पनि बदलिन सक्छ,’ नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ।

उनले समाजवाद निर्माणका निम्ति एउटा बलियो कम्युनिष्ट शक्तिको आश्यकता रहेको औंल्याएका छन्। त्यसका लागि विभाजित अवस्थामा रहेका नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध नगरी त्यो बलियो कम्युनिष्ट शक्ति निर्माण हुन नसक्ने उनको भनाइ छ। ‘वामपन्थी शक्तिहरूबीच सहकार्यको भावना विकास गर्नु र मोर्चा बनाएर काम गर्दै पार्टी एकताका आधारहरू निर्माण गर्नु पनि आजको एउटा महत्वपूर्ण राजनीतिक कार्यभार हो। यो कार्यभार बहन गर्नुपर्ने दायित्व हाम्रो काँधमा छ,’ उनले भनेका छन्।

उनले समाजवादी मोर्चालाई वामपन्थी पार्टीहरूबीचको संयुक्त मोर्चा रहेको उल्लेख गरेका छन्। ‘यस मोर्चाको मुख्य लक्ष्य र उद्देश्य ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै समाजवादको नेपाली बाटो तय गर्ने र समाजको अग्रगामी रूपान्तरणको कार्य अगाडि बढाउने’ हो। यस उद्देश्य अनुरूप मोर्चालाई राम्रोसँग परिचालन गर्न सकियो भने समाजवादी क्रान्तिलाई अगाडि बढाउन केही न केही योगदान पुग्ने छ,’ प्रतिवेदनमा भनिएको छ। उनले एमालेसहितको वर्तमान गठबन्धनका कारण प्रतिनिधसभा र प्रदेशसभासमेत त्रिशंकु भएको आरोप लगाए। यसले सरकारको स्थिरतामा प्रश्न उठिरहेको उनको भनाइ छ।

‘२०८० फागुन २१ मा उक्त गठबन्धन भत्किएर हाम्रो पार्टी नेकपा ( एकीकृत समाजवादी), नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), रास्वपा र जसपा सम्मिलित पाँच दलीय गठबन्धन बनेको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै नेतृत्वमा सरकार बनेको छ। प्रतिनिधि सभा र प्रदेश सभा सबै त्रिशंकु भएको र सबैतिर गठबन्धन सरकार बनाउनुपर्ने अवस्था भएकाले सरकारको स्थिरतामा प्रश्न उठिरहने अवस्था छ,’ प्रतिवेदनमा भनिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *