चितवनका निर्मल महतो आफ्नै कोठामा मृत भेटिए, सहकारीका कारण थिए तनावमा

भरतपुरबाट दक्षिण-पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय निर्मलकुमार महतोले बिहीबार आत्महत्या गरेका छन्। महतोको शव उनकै कोठामा फेला परेको चितवन प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले बताए। ‘सुसाइट नोट त छैन तर उनले प्रयोग गर्ने दुईवटा मोबाइलको प्राविधिक अनुसन्धान गर्नेछौं। सबै खाले अनुसन्धान अगाडि बढ्दै जाँदा तथ्य कुरा खुल्ला,’ रिजालले भने।

मृतक महतो स्थानीय सनराइज सहकारीका कर्मचारी थिए। बरौजीका गौरीराम महतोका दुईमध्ये कान्छो छोरा थिए, निर्मल। बाबु पटिहानी क्षेत्रमा नाम चलेका क्याटरिङ व्यवसायी भए पनि निर्मल भने सहकारीका जागिरे थिए। गौरीरामले दुखेसो पोखे, ‘बाहिर जागिर खानुपर्ने थिएन। तर चिनजानका मान्छेले सहकारीमा राम्रो कमाइ हुन्छ भनेपछि उता लाग्यो।’

२०७८ मा उत्कृष्ट कर्मचारी भएका निर्मल २०७९ भदौपछि सहकारीले बचतकर्तालाई बचत फिर्ता दिन नसक्ने भएपछि समस्यामा पर्न थालेका थिए। सहकारी समस्यामा परेसँगै बचतकर्ताहरू आन्दोलित हुन थालेपछि उनी चिन्तामा थिए। किनकि उनले बुबाको चिनजान भजाएर धेरैलाई सहकारीको बचतकर्ता बनाएका थिए। सहकारी डुबेपछि निर्मलले क्याटरिङको काममा बुबालाई सघाउँदै आएका थिए। तर सहकारीको बचत रकमबारे सोधखोज गर्दै पटकपटक विभिन्न व्यक्तिहरू घरमै आउन थालेपछि निर्मल थप तनावमा परे। गौरीरामले भने, ‘मैले ऊ सामान्य कर्मचारी मात्र हो, तपाईंहरूको बचत जम्मा नगरेर हिनामिना गरेको छ भने भन्नुस्, नत्र संस्थाको कुरा उसलाई भनेर के हुन्छ र? मुख्य मान्छेलाई नै दबाब दिनुहोस् भनेर कति जनालाई सम्झाएर पनि पठाएको थिएँ।’

उनी सहकारीकै तनावले छोराको मृत्यु भएकामा आशंका गर्छन्। भन्छन्, ‘मान्छेहरू आउँथे, फोन पनि गर्दथे। त्यसैले यो घटनाको राम्रोसँग छानबिन गरेर सत्य कुरा खुलाउनुपर्‍यो।’ मृतक निर्मलकी दिदी विदेशमा रहेकाले परिवारका सदस्यले दिदी नआउन्जेलसम्मका लागि भरतपुर सरकारी अस्पतालको शव गृहमा शव राखेका छन्।

तत्कालीन भरतपुर नगरपालिका-१२ मा कार्यालय रहने गरेर ०६६ भदौ ११ मा दर्ता भएको सनराइज बचत तथा ऋण सहकारी संस्था बर्दिया गुलरिया-५ का नगेन्द्रबहादुर रिमाल अध्यक्ष रहने गरी भरतपुर महानगरपालिका-३ लायन्स चोकमा कार्यालय राखेर ०७४ देखि सञ्चालन हुँदै आएको थियो। संस्थाले अन्य दुई ठाउँ चनौली र विकास चोकमा पनि सेवा केन्द्र खोलेको थियो। सहकारीका एक बचतकर्ता भरतपुर-३ का तुलसी सापकोटाले सुनाए, ‘०७९ भदौदेखि संस्थाले बचत फिर्ता गर्न आनाकानी गर्न थाल्यो। समस्या बढ्दै गएपछि सोही वर्षको कात्तिक ७ देखि सहकारीको सबै कार्यालय बन्द भए।’ उनले बचतकर्ताले सोही बेलादेखि छानबिनका लागि विभिन्न निकायमा धाएको तर कारबाही अगाडि नबढेको गुनासो सुनाए।

रमेश कुमार पौडेल/कान्तिपुर दैनिकबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *