ममता चौधरीको उत्कृष्ट प्रदर्शनमा एपीएफ विजयी

ललितपुर मेयर कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ। एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गरेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा एपिएफ क्लब लगातार चौथो खेलमा पनि विजयी भयो। जितसँगै एपिएफ आठ अङ्कसहित शीर्ष स्थानमा छ । पराजित सुदूरपश्चिमले तीन खेलबाट चार अङ्क जोडेको छ।

सुदूरपश्चिमले दिएको एक सय १२ रनको लक्ष्य एपिएफले दुई बल बाँकी छँदा सात विकेट गुमाउँदै पूरा गर्यो। एपिएफका लागि ममता चौधरीले सर्वाधिक ३२ रन बनाइन्। त्यस्तै रोमा थापाले २३, सरिता मगरले १९ र राजमति ऐरीले ११ रन बनाइन्। बलिङतर्फ सुदूरपश्चिमका लक्ष्मी साउदले दुई तथा जानकी थापा, कविता जोशी, ऋतु कनोजिया र कप्तान विन्दु रावलले एक-एक विकेट लिइन्।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ११ रनको योगफल बनायो। सुदूरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक ३६ रन बनाइन्। कविता जोशीले अविजित २९ तथा रुवि पोदारले २९ रन बनाइन्। बलिङतर्फ एपिएफका रेखा रावल र इन्दु बर्माले एक एक विकेट लिए। पाँच टोली सहभागी उक्त प्रतियोगिताका शीर्ष स्थानमा रहने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *