सुदूरपश्चिममा नागरिक उन्मुक्तिको रमाइलो, २ सांसद कुर्सीमा, ५ सांसदको नाराबाजी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन्। आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका मतका लागि पेस गरेको प्रस्तावका पक्षमा २८ मत परेको र सो सङ्ख्या प्रदेशसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको बहुमत भएको सभामुख भीमबहादुर भण्डारी घोषणा गरे।

प्रतिपक्षी दल नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टीका पाँच सदस्यसहितले गरेको बेल घेराउ र नाराबाजीका बीच मुख्यमन्त्रीले विश्वासको मत पाए। दोस्रो बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दलका सदस्यले बेल घेराउ गरी नाराबाजी गरिरहँदा सभामुख भीमबहादुर भण्डारीको अनुमतिमा मुख्यमन्त्री सोडारीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरे।

नाराबाजीका बीच सभामुखले मतविभाजको प्रक्रियाद्वारा मुख्यमन्त्रीले पेस गरेको प्रस्तावलाई बैठकमा निर्णयार्थ पेस गरे। यससँगै प्रतिपक्षी नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्तिका पाँच र राप्रपाका एक सदस्यले मतदान प्रक्रियामा भाग नलिई बैठकबाट बाहिरिएका थिए।

प्रदेशसभाबाट विश्वासको मतपाएपछि बैठक कक्ष बाहिर मुख्यमन्त्री सोडारीले एक-दुई दिनभित्र सरकारले पूर्णता पाउन बताए। यसअघि आजै प्रदेशसभाको पहिलो बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दलका सदस्यले आफ्नो ठाउँबाट उठेर विरोध गरेका थिए। सभामुखले आफ्नो भनाइ राख्न दिएको समयमा प्रतिपक्षी नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरीले सरकार गठनको प्रक्रियामा प्रश्न उठाएका थिए।

आजको प्रदेशसभा बैठकमा नागरिक उन्मुक्ति पार्टीका पाँच सदस्य प्रतिपक्षी बेञ्चमा र दुई सदस्य सत्तापक्षीय बेञ्चमा बसेका थिए। सत्तापक्षीय बेञ्चमा बस्नेमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापा छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *