India Sanjay Dutt

भारतीय अभिनेता संजय दत्त बिहीबार जेलमुक्त भएका छन्। पुनेस्थित यरवडा जेलबाट बिहानै रिहा भएलगत्तै संजयले सञ्चारमाध्यमसँग अब आफूलाई सन् १९९३ मा भएको मुम्बई बमविस्फोटमा जोडेर समाचार नलेख्न आग्रह गरे।

अवैध हतियार राखेको अभियोगमा संजयलाई अदालतले दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय सुनाएको थियो। अदालतको फैसलापछि उनी सन् २०१३ मेदेखि जेलमा ४२ महिना बसे। ५६ बर्से उनी सन् २००७/०८ मा १८ महिना जेल बसेका थिए। टाडा कानुनअन्तर्गत स्पेसल कोर्टले उनलाई सुनाएको ५ वर्ष कैद सजाय सन् २०१३ मा सुप्रिम कोर्टले सदर गरेको थियो।

रिहाइपछि गरेको पत्रकार सम्मेलनमा संजयले भने, ‘म आतंकवादी होइन। र, अब मलाई सन् १९९३ को मुम्बई बमविस्फोटसँग जोडेर समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमसँग आग्रह गर्छु।’ जेलमुक्त भएपछि परिवारसँग भेट हुने र फेरि कहिल्यै जेल नफर्कने सोचेर चार दिनयता भोजन नगरेको र गएराति नसुतेको उनले बताए।

संजयका अनुसार उनले मुद्दाबाट स्वतन्त्र हुन २३ वर्ष पर्खनु परे पनि अन्त्यमा स्वतन्त्रता पाएको बताए। उनले आफू स्वतन्त्र भएको अनुभूत गर्न अझै केही दिन लाग्ने पनि बताए। यतिबेला आफूले सबैभन्दा बढी पिता सुनिल दत्तलाई ‘मिस’ गरेको भन्दै उनी जीवित हुन्थे भने सायद आफ्नो रिहाइबाट सबैभन्दा बढी खुशी हुन्थे भने।

जेलबाट निस्कनासाथ संजयले भूमि चुमेका र भारतको राष्ट्रिय झण्डालाई सलामी दिएका थिए। यसबारे उनले भने, ‘धर्ती मेरी आमा हुन्। म भारतीय धर्तीलाई माया गर्छु र आफू भारतीय भएकोमा गर्व गर्छु।’

सन् १९९३ को मुम्बई विस्फोटमा २ सय ५७ जनाको मृत्यु भएको थियो भने ७ सय १३ जना घाइते भएका थिए। संजयलाई बमकाण्डका अभियुक्तसँग हतियार किनेको अभियोगमा अदालतले दोषी ठहराएको थियो। उनले भने विस्फोटपछि भएको हिन्दु–मुस्लिम साम्प्रदायिक दंगामा आफ्नो परिवारको सुरक्षा गर्न हतियार आवश्यक भएको जिकिर गरेका थिए।

जेल बसाइमा संजयलाई उनको असल व्यवहार र रेडियो कार्यक्रम सञ्चालनजस्ता गतिविधिका कारण ४ महिना २४ दिनको सजाय माफ गरिएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *