बन्द रेशम चौधरीको खुला चुनौती

सइन्द्र राई/अनलाइनखबर डटकम 

आजीवन काराबासको सजाय खेपिरहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले कैलालीको दक्षिण–पूर्वी टीकापुरमा केन्द्रीय कार्यालय खोलेको छ ।

सुदूरपश्चिम प्रदेशकै धेरै जनसंख्या र निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लामा सबभन्दा ठूलो राजनीतिक शक्ति बनिसक्दा पनि यो पार्टीसँग कार्यालय थिएन ।

‘अहिलेसम्म खोलिएको कार्यालय भनेकै यही हो, अब विस्तारै अरूतिर पनि हुन्छ’, केन्द्रीय सदस्य प्रदीप चौधरी भन्छन् । रेशमकी पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष रहेर ९ महिना अगाडि (पुस २०७८ मा) गठन गरिएको यो पार्टीले गएको ३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा कैलालीको १३ मध्ये चार पालिका जितेको छ ।

जिल्लाको तेस्रो ठूलो पालिका टीकापुरसहित भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकाको प्रमुख जितेर पहिलो दल बनेपछि मात्रै नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालय खोल्ने निष्कर्षमा पुगेको हो ।

‘यो घर रेशम चौधरीकै हो, जलेको घरलाई रंग लगाएर केन्द्रीय कार्यालय बनाउँदैछौं’ अर्का केन्द्रीय सदस्य ललित ताम्राकार भन्छन्, ‘सांस्कृतिक पहिचानको आन्दोलन अब यहींबाट अगडि बढ्छ ।’

सात वर्ष अगाडि अर्थात् ८ भदौ २०७२ मा रेशम चौधरीको यो घरमा आगजनी भएको थियो । तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको हत्या भएपछि उत्पन्न आक्रोशकै क्रममा रेशमको घर, गाडी र फूलबारी एफएम जलाइएको थियो । अरू ८८ वटा घरमा लुटपाट र आगजनी भएको स्थानीय बताउँछन् । ‘आगजानी र लुटपाट भएका सबै घर थारूका थिए’, केन्द्रीय सदस्य प्रदीप भन्छन् ।

संविधान निर्माणका क्रममा थारू बहुल क्षेत्र (कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ) लाई छुट्टै प्रदेश बनाइनुपर्ने र अखण्ड सुदूरपश्चिम टुक्र्याउन नहुने पक्षधरबीच मतभेद चलिरहेकै बेला, ७ भदौ २०७२ मा टीकापुर घटना हुन पुगेको थियो । उक्त हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा रेशमसहित ५८ जना विरुद्ध मुद्दा दर्ता भयो । रेशम लगायतका केही फरार थिए भने केहीलाई प्रहरीले पक्राउ गरेको थियो ।

रेशमले फरार रहँदै २०७४ को प्रतिनिधिसभा सदस्यको चुनाव जिते । त्यसबेला तत्कालीन वामगठबन्धन (एमाले र माओवादी केन्द्र) र नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन बीच मुख्य प्रतिस्पर्धा भएको थियो ।

तर २१ हजार मतान्तरले वाम गठबन्धनकी मदनकुमारी शाह (गरिमा) लाई पछि पार्दै रेशमले कैलाली–१ बाट चुनाव जिते । रेशमले ३४ हजार ३४१ मत पाउँदा गरिमाले १३ हजार ४०६ मत ल्याएकी थिइन् । कांग्रेसकी ईश्वरी न्यौपाने ११ हजार २०३ मतमा सीमित भइन् ।

चुनाव जितेपछि जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका रेशमलाई एक वर्षपछि, ११ पुस २०७५ मा शपथ गराइयो, प्रतिनिधिसभा सदस्यको लोगो दिइयो । त्यसको दुई महिनापछि जिल्ला अदालत, कैलालीले रेशमसहित ११ जनालाई जन्मकैदको सजाय सुनायो ।

उच्च अदालत दिपायलले ३ पुस २०७७ मा राजकुमार कठरिया, सुन्दरलाल कठरिया र वृजमोहन डगौराको जन्मकैद उल्टी भयो भने तीन वर्ष कैद सजाय काटेर छुटेका लक्ष्मण थारूलाई जन्मकैदको सजाय सुनायो । रेशम चौधरीको जन्मकैदलाई भने उच्च अदालतले पनि सदर गर्‍यो ।

जन्मकैदको सजाय काटिरहेका रेशम, केन्द्रीय कारागार डिल्लीबजारमै बन्दी छन् । ‘जनताको आँखामा रेशम चौधरी निर्दोष हुनुहुन्छ, हरेक इमानदार नागरिकले टीकापुर घटनालाई घुसपैठ नै भन्छन्’ केन्द्रीय सदस्य ललित भन्छन्, ‘तर प्रशासनको आँखा खुलेको छैन, जनादेशको सन्देश बुझेको छैन ।’

बढ्दो आकर्षण 

कानुनको नजरमा दोषी सावित भएका रेशम चौधरी, प्रमुख राजनीतिक दलहरूलाई समस्या बन्न पुगेका छन् । २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) को चिह्न छाताबाट चुनाव लडेका रेशमले आफ्नै पार्टी गठन गरेका छन् । उनको नागरिक उन्मुक्ति पार्टीप्रति अन्य दलका नेता–कार्यकर्ता र जनताको पनि आकर्षण देखिएको स्थानीयको बुझाइ छ ।

‘अरू पार्टीलाई भोट दिएर पनि केही हुने होइन, नागरिक उन्मुक्तिलाई दिए कम्तीमा रेशमलाई न्याय हुन्छ भन्ने देखिन्छ’, स्थानीय व्यवसायी बालकृष्ण बर्तौला (३०) भन्छन् । उनी आगामी चुनावमा पनि नागरिक उन्मुक्ति पार्टीले राम्रै मत पाउने अनुमान गर्छन् । ‘माहोल छ । स्थानीय चुनावले अझै धेरै आकर्षण बढाएको छ’, बर्तौलाले अनलाइनखबरसँग भने ।

२४ भदौको दिउँसो केन्द्रीय कार्यालयमा समानुपातिकतर्फको सूची तयार पार्दै गरेका प्रदीपले रेशम चौधरीलाई सोचकै संज्ञा दिए । ‘रेशम चौधरी एक सोच बन्नुभएको छ, यहाँका हरेकलाई सोध्नुहोस्, रेशम चौधरीप्रति श्रद्धा छ’, उनी दाबी गर्छन् ।

स्थानीय चुनावमा कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी जस्ता ठूला शक्तिलाई पछाडि पारेकाले पनि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने लहर देखिन्छ । एमाले कैलालीको नेतृत्व गरिसकेका प्रदेश सभा सदस्य रतन थापा कार्यकर्तासहित स्थानीय चुनावपछि यो पार्टीमा प्रवेश गरे ।

यो क्षेत्रमा राम्रै प्रभाव राख्ने कांग्रेस नेता प्रदीप चौधरी र माओवादी केन्द्रका केन्द्रीय सदस्य छोडेर ललित ताम्राकार नागरिक उन्मुक्ति पार्टीमा लागेका छन् । जनता समाजवादी पार्टी (जसपा) छोडेर कोमल ज्ञवाली केही पहिलेबाटै रेशमलाई साथ दिंदै आएका छन् ।

‘पार्टी बनेपछि नेताहरू पनि देखिन थालेको हो । यसअघि त रेशम चौधरीको प्रचार मात्रै थियो’, एक स्थानीयले भने । कतिसम्म भने २०७४ को चुनावमा रेशमकै बुवा लालवीर समेत एमालेमा थिए । एमालेले कैलाली–१ (ख) बाट लालवीरलाई उम्मेदवार बनाएको थियो ।

अर्थात् छोरोविरुद्ध लालवीरले मत माग्नुपथ्र्यो । ‘म प्रदेश सभाको उम्मेदवार भएपछि रेशमको भोट काटिन्छ र गरिमा साहले पनि जित्छिन् भन्ने हिसाबले टिकट दिएको रहेछ’, लालवीर भन्छन् । रेशमले पार्टी खोलेपछि भने उनी छोराकै पार्टी कार्यालय धाउन थालेका छन् ।

अझै पढ्नुहाेस