सङ्खुवासभा बाढीपहिरोमा बेपत्ता थारूका परिवार भन्छन्- छोरा सम्झेर आँखा रसाउँछ

कमल पन्थी / कान्तिपुर दैनिक

गत असार २ गते संखुवासभाको चैनपुर–४ स्थित सुपर हेवा हाइड्रोपावरमा आएको भीषण बाढीमा परी बर्दियाका पाँच जना बेपत्ता भएका छन् । उनीहरू बिहीबारसम्म सम्पर्कमा नआएपछि परिवार शोक र चिन्तामा डुबेको छ । गत शनिबार राति आएको बाढीले हाइड्रोपावरमा मजदुरी गर्न गएका उनीहरू सम्पर्कविहीन भएका हुन् ।

जिल्लाको बारबर्दिया–८, औरीकी ४० वर्षीया पार्वती थारु र उनका जेठा छोरा राहुलबीच शनिबार साँझ फोनमा कुराकानी भएको थियो । ‘आमा चिन्ता नगर्नूस्,’ राहुलले भनेका थिए, ‘हामी दुई भाइ छिट्टै घर आइपुग्छौं ।’ खेतीपातीको याम भएकाले उनले घर छिट्टै फर्किने बताएका थिए । उक्त संवादपछि दुवै छोरासित फोन सम्पर्क बिच्छेद भएको र अर्को दिनदेखि सम्पर्क नै हुन नसकेको पार्वतीले सुनाइन् । ‘अहिलेसम्म उनीहरूको अवस्था थाहा छैन,’ उनले भनिन्, ‘कता हराए, केही पत्तो छैन ।’ छोराहरू सम्पर्कविहीन भएपछि आमा पार्वती पाँच दिनदेखि मूर्छित अवस्थामा छन् । उनका दुई छोरा २० वर्षीय राहुल र १८ वर्षका रोहित मजदुरी गर्न संखुवासभाको चैनपुर–४ स्थित सुपर हेवा हाइड्रोपावरमा गएका थिए । गत साउन १० गते राहुल र माघी पर्व मानेर रोहित मजदुरी गर्न त्यहाँ गएको पार्वतीले बताइन् । ‘खान खोज्दा छोरा सम्झिन्छु,’ उनले भनिन्, ‘खाना खानै मन लाग्दैन । छोराहरूको मात्रै सम्झना आउँछ ।’ अहिले घरमा कुनै नौलो मानिस आए उनी आँखा रसाउँदै छोराको खबर के छ भन्दै रुन थाल्छिन् ।

एसईई उत्तीर्ण दुई दाजुभाइ उच्च शिक्षा अध्ययनका गर्न नपाएकाले ज्याला मजदुरी गर्न संखुवासभा गएको उनले सुनाइन् । मजदुरी गरी घर-परिवार पाल्दै आएका दुवैले हाइड्रोपावरमा दैनिक ज्याला मजदुरीमा काम गर्थे । ६ सय रुपैयाँ दैनिक ज्यालादारीमा काम गरिरहेको आमा पार्वतीले बताइन् । राहुल, रोहितसहित यस गाउँका राजाराम चौधरी, कालीराम थारु र फूलसन थारु मजदुरी गर्न त्यहाँ गएको र अहिलेसम्म फेला नपरेको प्रमुख जिल्ला अधिकारी नारायण रिसालले बताए । ‘संखुवासभाका प्रजिअमार्फत जानकारी लिँदै आएको छु,’ उनले भने, ‘खोजी कार्य जारी रहेको छ ।’

बारबर्दिया–७ सोनपुरका १६ वर्षीय फूलसन थारु गत वैशाख २७ गते संखुवासभा गएका थिए । आफ्नो जेठो छोरा फुलसन बेपत्ता भएपछि आमा महारानी रुन छाडेकी छैनन् । फूलसनले पनि असार २ गते भीषण वर्षा भएको जानकारी आमालाई गराएका थिए । ‘आमा मसँग मोबाइलमा रिचार्ज सकिएकाले ५० रुपैयाँ पठाइदिनूस् भनेको थियो,’ उनले भनिन्, ‘मैलै ५० रुपैयाँ पठाइदिएँ, भोलि (आइतबार) बिहान कुरा गरौंला भन्दै थियो, त्यसपछि सम्पर्कै हुन सकेन ।’

बारबर्दिया–८ भगतपुरका ४१ वर्षीय राजाराम थारुले शनिबार सासूआमालाई फोन गरेको बुहारी किस्माले बताइन् । ‘फोन गर्दा घरपरिवारमा ससुराले सासुसँग सन्चो बिसन्चो सोध्नु भयो,’ उनले भनिन्, ‘त्यसपछि फोन सम्पर्क भएको छैन ।’ सुमित्रा पाँच दिनदेखि पटक–पटक अचेत भइरहेकी छन् । उनलाई स्थानीय मेडिकल हलका स्वास्थ्यकर्मी जनक चौधरीले बेलाबेलामा स्लाइनपानी र सिटामोल दिने गरेको बताए । ‘शरीरमा अन्नपानी छैन, खाना नखाएकाले शरीर कमजोर हुँदै गएको छ,’ उनले भने, ‘दैनिक स्लाइन पानी चढाइरहेको छु र निगरानीमा राखेका छौं ।’ सम्पर्कविहीन राजाराम पूर्वसैनिक हुन् । राजारामका पिता दरबारी थारुले छोरा त्यहाँ सुपरभाइजरको जागिर खान गएको बताए । ‘पेन्सन निस्केपछि खालि बस्नुभन्दा काम गर्छु भनेर गएको हो,’ उनले भने, ‘शनिबार राति फोन सम्पर्क भएको थियो, त्यसपछि सम्पर्क नै हुन सकेको छैन ।’ राजाराम गत फागुन १० गते मजदुरीका लागि उक्त हाइड्रोपावरमा गएका थिए ।

हाइड्रोपावरमा आएको बाढीमा परी घाइतेमध्ये बारबर्दिया–७ का विपत्राम थारु र टीकाराम थारु उपचारपछि बिहीबार घर फर्किएका छन् । बर्दियाका सात, कैलालीका चार र संखुवासभाका एक जना हाइड्रोपावर नजिक एउटै कोठामा डेरा गरी बस्ने गरेको विपत्रामले सुनाए । तीमध्ये बर्दियाका पाँच, कैलालीका चार र संखुवासभाका एक जना सम्पर्कविहीन भएको उनले सुनाए । ‘यस्तो ठूलो बाढी आयो, जस्तापाताले मलाई च्याप्यो,’ उनले भने, ‘त्यसपछि जस्तापाता हटाएर पहाडतिर गएर ज्यान बचाएँ ।’ बाढीबाट ज्यान जोगाउन सफल घाइते टीकारामले बाढीले बगाउँदा रुखको जरो समातेर ज्यान बचाएको र अर्को दिन बिहान स्थानीयले उद्धार गरी स्वास्थ्य केन्द्रसम्म पुर्‍याएको सुनाए ।

अझै पढ्नुहाेस