प्रधानमन्त्रीसँगै सुदूरपश्चिम पुगेकी रञ्जिताले दिइन् रेशम पक्षका ५ सांसदलाई कारबाही गर्ने चेतावनी

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संरक्षक रेशम चौधरी पक्षधर सुदूरपश्चिम प्रदेशका ५ सांसदलाई कारबाही गर्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालसँगै कैलाली पुगेकी उनले विधानअनुसार कारबाहीको चेतवतनी दिइन्।

उनले आफूसँग नआउने भए पदबाट हट्न निर्देशनसमेत दिइन्। उनले भनिन्, ‘मलाई आशा छ, अझै पनि ५ जना सांसदहरू फर्केर एकै ठाउँमा आउनेछन्। पार्टीको विधान मान्नेछन्। तर, उनीहरूको सांसद पदबाटै हटेर जाने इच्छा हो भने पनि म उहाँहरुको निर्णयको स्वागत नै गर्छु।’

नागरिक उन्मुक्तिभित्र विवाद भएपछि उसका ७ जनामध्ये ५ जना कमल बहादुर शाहको मन्त्रिमण्डलमा सहभागी भएका थिए। पत्रकारको प्रश्नमा उनले थपिन्, ‘नागरिक उन्मुक्ति राजनीतिक दल हो। राजनीतक दलसम्बन्धी कानुन छ। दलको विधान छ। दलविहीन भयो भने के हुन्छ भन्ने कुरा दफा/दफावार लेखेको छ। साथीहरूको त्यही चाहना हो भने मेरो भन्नु के छ र?’

उनले पूर्व एमालेसमेत रहेका रतन थापाकी पत्नी टीका थापाले मन्त्रालयसहितको जिम्मेवारी सम्हाल्ने बताइन्। यसअघि मन्त्रालय नपाएपछि उनले फेसबुकमा मुख्यमन्त्री दोर्घ सोडारीलाई आफ्नो समर्थन नरहेको घोषणा गरेकी थिइन्। यद्यपि त्यो बार्गेनिङका लागिमात्रै गरिएको उनी निकट नेताहरू बताउँछन्। ‘हाम्रो पार्टीको निर्णय विभाग लिएर मन्त्रीमा सपथ लिने भन्ने थियो। तर, टीकाजीलाई विभाग नतोकी बिना विभागीय बनाउन खोजिएको रहेछ। अब विभाग तोकिन्छ, उहाँले सपथ खानुहुन्छ’ रञ्जिताले भनिन्।

उनले अहिलेको सत्ता समीकरण बचाउनका लागि आफ्नो दलले पाएको सुदूरपश्चिमको मुख्यमन्त्री पद छोड्नुपरेको बताइन्। उनले भनिन्,‘मैले गठबन्धन जोगाउनकै लागि एक कदम पछाडि हटेर पाएको मुख्यमन्त्रीको पद छोडनुपर्‍यो।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *