थारू समुदायमा जितिया रमझम

रमेश कुमार पौडेल/कान्तिपुर दैनिक

बाबा बरि जल रि पुता जैचन,
रि झिन जाहू गैया गुहार ।
गैया गोहरइकी रि पुता जैचन,
लगी गेल भुखप्यास ।
भरतपुर महानगर–१३ उज्जलनगरकी रीता महतो साथीहरूसँगै थारू भाषाको यो गीत गाउँदै थिइन् ।

एक जनाले गीत सुरु गरेपछि बाँकी महिलाले सोही लाइन दोहोर्‍याउँछन् । गोलाकर भएर घुम्दैघुम्दै गीतसँग ताल मिलाएर घरी पछाडि थपडी बजाउने, घरी अगाडि थपडी बजाउने गर्छन् । यसलार्ई उनीहरू ‘झाम्टा’ भन्छन् । थारू समुदायका महिला जितिया पर्वका बेलामा ‘झाम्टा’ नाच्छन् ।

भाद्र कृष्णपक्षको अष्टमी तिथिमा थारू समुदायले मनाउने जितिया पर्व पर्दछ । खासगरी महिलाहरू व्रत बस्ने र झाम्टा नाच्ने चलन छ । झाम्टा नाच्दा गाइने गीतमा भने गाउँ समाजका घटना, दुःख र पीर व्यथा समेटिएका हुन्छन् । माथिको पंक्तिमा गाई चराउन जाँदा भोकप्यासको सामना गर्नुपर्ने विषयबारे चर्चा छ । थारू समुदायका व्यक्तिहरू पहिला गाई चराउन जंगल लिएर जान्थे । ‘अहिले त हाम्रा दाजुभाइ, दिदीबहिनी पनि धेरैखाले पेसामा छन् । पुरानो पेसा कमैले गर्छन् । तर झाम्टा नाच्दा पुराना गीतमा त्यति बेलाका विषयमा आउने नै भए,’ रीताले भनिन् । अचेल झाम्टा गीतमा समसामयिक विषय पनि समेटिन थालेका छन् । संगीत पनि मिसाएर ताल मिलाएर नाच्ने चलन पनि सुरु भएको छ ।

केही समयअघि सकिएको तीज पर्वसँगै मिल्दोजुल्दो पनि छ जितिया । ‘व्रत बस्ने, दर खाने, गीत गाउने र तीन दिनसम्म मनाउने भएकाले कतिपयले यसलाई तीजजस्तै मान्छन् । तर यो पर्व आफ्नै मौलिक विशेषतासहितको छ,’ थारू कल्याणकारिणी सभाका पूर्वकेन्द्रीय सदस्य तथा हालका पार्षद चन्दा चौधरीले भनिन् । सप्तमीका दिन बिहानै नदी र खोलामा गएर नुहाउने चलन छ । सप्तमीको राति भाले नबास्दासम्म विभिन्न परिकार खाइन्छ । जसलाई थारू भाषामा ‘डटखट’ भनिन्छ ।

अष्टमीको दिनभरि व्रत बस्ने र साँझ ‘जित बाहन’ को कथा सुन्ने चलन रहेको चन्द्र चौधरीले बताइन् । ‘जित बाहन’ पराकर्मी बालक भएको र दुःख कष्टबाट छुटकारा दिन सक्ने ‘सूर्य’ को छोरा भएको कथामा छ । व्रत बसेर जित बाहनको कथा सुन्दा आफ्ना सन्तान पनि त्यस्तै पराकर्मी हुने विश्वास थारू समुदायमा छ । नवमीको दिन फेरि बिहान सबेरै खोला या नदीमा गएर नुहाएपछि जितिया पर्व सकिन्छ ।

थारूहरू चितवनको आदिवासी समुदाय हुन् । जिल्लाको मैदानी क्षेत्रमा उनीहरूको बाक्लो बसोबास छ । सात पालिका रहेको चितवनमा पहाडी भेगको इच्छाकामना गाउँपालिकाबाहेक सबै पालिकामा थारू समुदायको बसोबास छ । २०७८ सालको जनगणनाअनुसार चितवनको ७ लाख २० हजार जनसंख्यामा दस प्रतिशत थारू छन् ।

अझै पढ्नुहाेस