रञ्जिता पक्षकी सांसद- पहिले समर्थन फिर्ता लिएको घोषणा, अहिले मन्त्री

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापा मन्त्री बनेकी छन्। उनी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षकी हुन्। मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन्।

थापाले मंगलबार नै पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन्। थापालाई प्रदेश प्रमुख मियाँले सपथ ग्रहण गराएका हुन्। मंगलबार बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले नाउपालाई कृषि मन्त्रालय दिने सहमति गरेको थियो। नाउपाका कैलाश चौधरीलाई मुख्यमन्त्री सोडारीले यसअघि नै भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरेका थिए।

यसअघि थापाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेकी थिइन्। फुल मन्त्री नबनाएको भन्दै उनका पति रतन थापाको फेसबुकमार्फत् थापाले सरकारलाई समर्थन नरहेको उल्लेख गरेकी थिइन्। ‘पार्टीको भागबण्डा लागाएर मिलिजुली खाने कुरा चित्तबुझ्दो छैन। त्यसैले मुख्यमन्त्रीको प्रस्तावमा मेरो असमत जनाउँदै सरकारमा सहभागी नहुने निर्णय लिएकी छु र यो सरकारलाई समर्थन पनि नरहेको कुरा जानकारी गराउँछु,’ उनले भनेकी थिइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *