थारू मुख्यमन्त्रीले नेतृत्व गरेको लुम्बिनी सरकार ढल्यो, डिल्ली चौधरीले दिए राजीनामा

लुम्बिनी प्रदेश स्थापना भएयता बनेको चौथो सरकार ढलेको छ। पछिल्लो ६ वर्षको अवधिमा प्रदेशले पाँचौ सरकार पाउँदै छ। राजनीतिक दलहरूबीचको जोड घटाउले प्रदेश सरकार पनि संघीय सरकार जस्तै अस्थिर बनेको हो।

चौथो मुख्यमन्त्री बनेका डिल्ली बहादुर चौधरीले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएका छन्। उनले आफू प्रजातन्त्रवादी रहेकाले सरकारमा आउनु र जानू स्वभाविक भएको बताउँदै प्रतिपक्षमा रहेर रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाए । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनका लागि मुख्यमन्त्री चौधरीको मागका आधारमा बिहीबार प्रदेशसभाको बैठक आह्वान गरिएको थियो।

सरकार टिकाउन साना दललाई मन्त्री दिए पनि अन्ततः उनले बहुमत जुटाउन सकेनन्। अन्तिम समयमा जसपाबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएपछि उनको बहुमत जुट्ने सम्भावना टरेको हो। त्यसपछि उनले मुख्यमन्त्रीबाट राजीनामा दिने निर्णय लिएका हुन्। उनले राप्रपासहितका दललाई विश्वासमा लिन खोजेका थिए।

कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरी ०८० वैशाख १४ गते माओवादीसहित ८ दलको समर्थनमा मुख्यमन्त्री बने। वैशाखमा मुख्यमन्त्री बनेका चौधरीको सरकार एक वर्ष नपुग्दै ढलेको हो।

लुम्बिनीमा पाँचौं मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त हुनेछन्। एमाले, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसदको समर्थन उनलाई रहेको छ। यी दलले संयुक्त सहमति पत्रमा हस्ताक्षर गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *