कैलाली १ मा पूर्वमन्त्री रामजनम चौधरी सिफारिस

कैलाली क्षेत्र नं. १ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट पूर्वमन्त्री रामजनम चौधरीसहित चार जनाको नाम सिफारिस भएको छ। कांग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय कार्य समितिले प्रतिनिधि सभा प्रत्यक्षतर्फ ४ जनाको नाम जिल्ला कार्य समितिलाई सिफारिस गरेको क्षेत्रीय सभापति प्रकाश शाहले बताए।

उनका अनुसार प्रतिनिधि सभा प्रत्यक्षतर्फ चौधरीसँगै बुद्धिसागर चौधरी, नृपबहादुर खड्का र टेकेन्द्रबहादुर धामीको नाम सिफारिस भएको छ।

क्षेत्रीय कार्य समितिले प्रतिनिधि सभा समानुपातिकतर्फ नौ जनाको नाम सिफारिस गरेको छ।

त्यस्तै, प्रदेशसभा (१) तर्फ प्रत्यक्षमा चार जनाको नाम सिफारिस भएको छ। सिफारिसमा पर्नेमा चुनिराम चौधरी, वीरबहादुर हमाल, रामकृष्ण चौधरी र राम रसिले चौधरी रहेका छन्। सोही प्रदेश सभाबाट समानुपातिकमा १२ जनाको नाम सिफारिस भएको छ।

प्रदेश सभा (२) बाट प्रत्यक्षतर्फ सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रणबहादुर रावल र धिजराज रेग्मीको नाम सिफारिसमा परेको छ।

यहाँबाट समानुपातिकमा १३ जनाको नाम सिफारिस भएको क्षेत्रीय कार्यसमितिले जनाएको छ। यो क्षेत्र ०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टीका रेशम चौधरीले जितेको क्षेत्र हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *