फास्टट्र्याक र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेछु : उमाकान्त चौधरी

१) निर्वाचित भएपछि कस्तो अनुभव गर्नुभएको छ ?
खुशीसँगै ठूलो जिम्मेवारी थपिएको महसुस गरेको छु । जनताले राखेको अपेक्षा पूरा गर्न सक्छु वा सक्दिन भन्ने चिन्ता पनि लागेको छ । जनताको आशा र अपेक्षा पूरा गर्न सधंै लागि रहनुपर्ने महसुस गरेको छु ।

२. तपार्इंले आफ्नो जिल्ला÷क्षेत्रको विकासका लागि तत्काल गर्ने तीनवटा काम के–के हुन् ?
मेरो निर्वाचन क्षेत्रमा फास्टट्र्याक, दोस्रो अन्तराष्ट्रिय विमानस्थल पर्ने भएकाले दुवै देशकै ठूलो योजनालाई समयमै पूरा गराउन लागि पर्नेछु । दुवै योजना पूरा भएपछि यसले देश विकासका साथसाथै स्थानीयलाई समेत रोजगारी दिने भएकाले यसको निमार्ण गराउनु मेरो पहिलो प्राथमिकता रहनेछ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेको सिम्रौनगढलाई बृहत पर्यटकीय क्षेत्र स्थापना गराउन लागि पर्नेछु । सिम्रौनगढको कृषि क्षेत्रको आधुनिकीकरण र तामागढी सिम्रौनगढ सडकखण्डलाई कालोपत्र गर्ने र ठाउँठाउँमा पुल निर्माण गराउने कार्यमा लाग्नेछु ।

३. अन्य दललाई समेटेर कसरी अगाडि बढ्नुहुन्छ ?
चुनावमा लड्ने धेरै जनामध्ये एक जनाले मात्रै जित्ने भएको हुँदा जित्नेले अहंकार गर्नुहुँदैन । चुनाव जितेपछि मेरो नजरमा मलाई मत दिने र नदिने सबै जनता समान रहेका छन् । मत दिने र नदिने सबै समान भएकाले विपक्षी कोही नहुने अनुमान गरेको छु । यदि त्यस्तै अवस्था आए भने विपक्षी पार्टीका स्थानीय नेता र कार्यकर्ताको साथसाथै उम्मेदवारलाई समेत साथमा लिएर क्षेत्रको विकासमा लाग्नेछु ।

४. तपाईंको क्षेत्रको मुख्यमुख्य समस्या के–के हुन् ?
यस क्षेत्रका मुख्य समस्या अशिक्षा, बेरोजगारी, सडक, खानेपानी, नदी कटान, अन्तराष्ट्रिय विमानस्थलबाट विस्थापित हुने स्थानीयलाई अन्य ठाउँमा स्थापित गराउने, प्राविधिक उच्च शिक्षाका लागि प्राविधिक क्याम्पसको स्थापना गर्नु रहेको छ ।

५. सांसदले आश्वासन बाँड्छन् पूरा गर्दैनन् भन्ने आम गुनासो छ, यसको बारेमा के भन्नुहुन्छ ?
जनतालाई आश्वासन बाँड्ने र पूरा नगर्ने मेरो चरित्र त्यस्तो छैन । मलाई यस क्षेत्रका जनताले २०५६ साल र २०६४ सालमा यसअघि जिताउँदा मैले जनतालाई आश्वासन दिएका अधिकांश काम पूरा गरेको छु । जनतालाई आश्वासन दिएर काम गरेकै कारण यसपाली पनि जनताले मलाई विजयी बनाएको र अहिले दिएको आश्वासन पूरा गराउन लागि पर्ने छु ।

६) तपाई मतदातालाई के भन्न चाहनु हुन्छ ?
मलाई यस क्षेत्रको मतदाताले दिएको मतलाई सधै सम्मान गर्दछु, साथै यस क्षेत्रका सबै मतदाता, शुभचिन्तकहरुलाई धन्यवाद दिन चाहन्छु । मतदाताको अपेक्षा र चाहना अनुसार नै यस क्षेत्रको विकासमा सधै लागि पर्ने र यस क्षेत्रलाई नमुना क्षेत्र बनाउनेछु ।

नागरिक दैनिक




Leave a Reply

Your email address will not be published. Required fields are marked *