हाम्रो पार्टीमा सबैभन्दा धेरै थारुहरु आउँछन् : भानुराम थारु [अन्तर्वार्ता]

थरुहट तराई पार्टी नेपालका तत्कालीन अध्यक्ष भानुराम थारुले आफ्नै नेतृत्वमा नेपाल लोकतान्त्रिक पार्टी गठन गरेका छन्। यो पार्टी निर्वाचन आयोगतमा गत भदौ १ गते विधिवत् रुपमा दर्ता भएको छ। विद्यानमा १ सय २१ सदस्यीय भनिएको कमिटीमा अहिले ७५ जना सदस्यमात्र रहेका छन्। पार्टीमा शिवलाल थापा वरिष्ठ नेता छन्। गीता क्षेत्री राणा र सुरेश गुप्ता सहअध्यक्ष छन्। पार्टीमा पाँच जना उपाध्यक्ष छन्। पार्टीको आगामी कार्यक्रमबारे अध्यक्ष भानुराम थारुसँग मदन चौधरीले गरेको कुराकानी।

नेपाल लोकतान्त्रिक पार्टी कस्तो खालको पार्टी हो ? यो पार्टीको लक्ष्य र उद्देश्य के के छन् ?
लक्ष्य र उद्देश्यभन्दा पनि २०६२-०६३ को आन्दोलनको बेला नेपाल शान्ति प्रक्रियामा रुपान्तरण भयो । त्यसपछि संविधानसभाबाट नेपालमा मूल कानुन बनाउने प्रक्रिया अगाडि बढ्यो । त्यतिबेला उत्पीडनमा परेका यो देशका सम्पूर्णले आफ्नो पहिचान, अधिकार सुनिश्चित गर्नुपर्छ भनेर राजनीतिक एजेण्डा बोकेर धेरै पार्टी खोले । त्यतिबेला अन्तरिम संविधान बनाइएको थियो, तर अन्तरिम संविधानमा १० वर्षे जनयुद्धको मूल मर्म समेटिएको देखिएन । त्यसपछि आदिवासी जनजाति, मधेसी, थारुलगायतका जातिले आन्दोलन गर्यो । उनीहरुले पहिचानसहितको अधिकार निम्ति आन्दोलन गरे । सरकारसँग धेरै बुँदामा सहमति पनि गरे । पहिलो संविधानसभाले केही माग सुनिश्चित गर्दै संविधान ल्याउने तयारी गरेको थियो । तर राजनीतिक दलहरुले उत्पीडनमा परेका जाति वर्गको अधिकार सुनिश्चित होस् भनेर चाहेनन् । जारी गर्नको लागि तयार भएको दस्तावेजलाई उनीहरुले थाँती राख्दै संविधानसभा विटन गरे । आफ्नो स्वार्थ पूरा नभएपछि उनीहरुले संविधानसभा विघटन गरेका थिए । दोस्रो संविधानसभाले पनि उत्पीडनमा परेका जाति वर्गको अधिकारलाई समेट्ने प्रयास गरेको देखिएन । १६ बुँदे सहमतिमा पहिचानका पाँच र सामथ्र्यका चार आधारमा प्रदेशको नामांकन र सीमांकन गर्ने भनेर आशा दिलाएको थियो । तर, त्यो कार्यवन्यन गर्न उनीहरु नै राजी भएनन् । सबै जातिको कलस्टर भताभुंग पारिदियो । असोज ३, २०७२ मा संविधान जारी भयो । तर, संविधान जारी भइरहँदा थारु, मधेसीहरु आन्दोलनमा थिए । सरकारले उत्कृष्ट संविधान भनिरहेको बेला थारु मधेसीहरु त्यसलाई स्वीकार गर्न सकिरहको छैन । किनभने त्यसले थारु मधेसीका अधिकार पूरा गरेको छैन ।

यहाँ समावेशिताको समस्या छ, कलस्टरको समस्या छ, भाषिक समस्या छ, नागरिकताको समस्या छ, सीमाको समस्या छ । र, सबैभन्दा ठूलो पहिचानको समस्या छ । पहिचान ढुंगाले, माटोले खोज्ने होइन, मान्छेले नै खोज्ने हो । तर सरकार भनिरहेको छ, उत्कृष्ट संविधान । लोकसेवामा आरक्षण त व्यवस्था गरेको छ, तर सत प्रतिशतमा होइन, ४५ लाई सत प्रतिशत मानेर आरक्षण वितरण गरेको छ । बाँकी ५५ प्रतिशत तिनै खसका लागि छुट्याइएको छ । यी यावत समस्याका बाजुद सरकारले समृद्ध नेपाल सुखी नेपाली भनिरेको छ । जनतालाई दीगभ्रमित पार्न खोजिरहेको छ । यिनै समस्याको समाधान खोज्न हामीले पार्टी खोलेका हौं । हाम्रो पार्टीले सडक, सदन, सम्बाद र सशस्त्र, यी चार अवधारणा बोकेर अगाडि बढ्छ ।

समस्याको चाङ सुनाउनुभयो । नेपालमा राजनीतिक दलले निर्वाचनका बेला प्रतिबद्धता गरेका कुनै कुरा त पूरा गर्दैनन् । तपाइँको नयाँ पार्टीले यी यावत समस्या कसरी समाधान गर्लान् र ?
हाम्रो पार्टी पहिचानवादीहरुको पार्टी हो । हामी तराई, पहाड र हिमालको समिश्रणबाट बनेका छौं । हाम्रो पार्टीमा उत्पीडनमा परेका ब्राह्मण, लामा, गुरुङ, शेर्पा, थारु, मधेसी, मुस्लिम, दलित सबैको सहभागिता छ । हाम्रो अधिकार संविधान संशोधनमार्फत् पूरा नभएसम्म हामी निरन्तर लागिरहन्छौं । त्यसका लागि सबै पार्टीसँग समन्वय गरेर अगाडि बढ्छौं । हाम्रा माग पूरा गर्न दबाब दिन्छौं ।

नेपाल लोकतान्त्रिक पार्टीको चुनदेवीस्थित पार्टी कार्यालय।

पछिल्लो दस वर्षको इतिहास हेर्ने हो भने पहिचानवादी नेताहरु तितरवितर भएको हामीले देखेका छौं । तपाईँ फेरि त्यही पहिचानवादी एजेण्डा बोकेर आउनुभएको छ । अर्को चुनाव आउँदासम्म पार्टीमा कति जना रहलान् ?
मान्छे सुविधाभोगी प्राणी पनि हो । दस वर्षे जनयुद्धपछिको घटनाक्रमले पनि त्यही बताउँछ । त्यसबेला पनि हामीले थरुहट तराई पार्टीलाई जीवन्त राखेका थियौं । दोस्रो संविधानसभामा समानुपातिकबाटै भएपनि दुई जना सांसद पठायौं । हाम्रो माग, मुद्दा संसदमा राख्यौं । हुन त हामी पहिचानवादीहरुलाई के पाइस् भन्ने खालको टर्चर ठालुहरुले दिए, त्यस्तो भोगाइ पाउनेमा म पनि पर्छु । तर व्यक्तिको व्यक्तिगत चाहना लोभी पापी पनि हुनसक्छ । पद र प्रतिष्ठाको साथसाथै आर्थिक लाभ प्राप्त गर्ने, त्यसैभित्र थरुहट तराई पार्टीसहितका पहिचानवादी नेताहरु ठूला पार्टीमा लागेर लाभ प्राप्त गरिरहेका छन् । अझै पनि निर्वाचन आयोगमा १२४ वटा पार्टी दर्ता छन् । त्यसभित्र धेरै पहिचानवादी पार्टीहरु पनि छन् । चुनाव नजितेपनि पहिचानवादी पार्टीहरु जिउँदैछन् भन्ने आभास त्यहाँबाट देखाउँछ । सबै लोभी पापी मनका छैनन् ।

थ्रेसहोल्डका कारण धेरै पार्टीहरु पाखा लागे । अगामी चुनावसम्म त दुई पार्टीय सिस्टम पनि लागू हुने कुरा सुनिन्छ । यस्तो बेलामा तपाईँको पार्टी कसरी स्थापित होला ?
हो, प्राय देशमा हामीले राष्ट्रिय पार्टी दुइटामात्र देखिरहेका छौं । भारतमै पनि भाजपा र कांग्रेसमात्र छन् । तर भारतको हरेक राज्यमा गन्ने हो भने त अनगिन्ती पार्टीहरु छन् । उनीहरुले केन्द्रमा एकात सिट जितेपनि राज्यमा बहुमत पनि ल्याएका छन् । हो, भविष्यमा हाम्रो देशमा पनि दुई पार्टीय सिस्टम होला । तर जहाँ थारु छन्, जहाँ मधेसी छन्, जहाँ लिम्बु, शेर्पाहरु छन्, जहाँ दलित, मुुस्लिमहरु छन्, त्यहाँ त स्थापित हुने आधारहरु छन् नि । ७ प्रदेश छन्, त्यहाँ एउटामात्र जितेपनि हाम्रो सुरुवात भएको मान्छौं । एउटा वडा वा स्थानीय तहमै जितेपनि हामी सफल भएको मान्छौं । त्यहाँबाट हामी नमूना काम गरेर देखाउँछौं । हाम्रो लक्ष्य एकैपटक केन्द्रमै आउँछौं भन्ने छैन ।

भनेसी तपाइँहरु तपाईँको पार्टीलाई क्षेत्रीय पार्टीको रुपमा स्थापित गर्न खोज्नुभएको छ ?
होइन, पार्टी त हामीले राष्ट्रिय स्तरमै दर्ता गरेका छौं । हामी क्षेत्रीय निर्वाचनमा दर्ता भएका होइनौं । हामी सबै ठाउँमा उठ्छौं । भोलिका दिनमा थ्रेस होल्डलाई हटाउन पनि सक्छौं । त्यतिबेला हामीले एकै सिट जिते पनि हाम्रो लागि त्यो उपलब्धि भएको ठान्छौं ।

तपाईँको  थरुहट तराई पार्टी गच्छदारको लोकतान्त्रिक फोरम हुँदै कांग्रेसमा विलीन भयो । तपाइँ थरुहटको अध्यक्ष, लोकतान्त्रिक फोरमको सहअध्यक्ष, नेपाली कांग्रेसमाचाहिँ किन जानुभएन ?
कांग्रेस पार्टीको उद्देश्य लक्ष्य सबैलाई थाहा छ । लोकतन्त्र र दलीय राजनीतिमा फुट्नु र जुट्नु ठूलो कुरा होइन । थारुहरुको पहिचानवादी पार्टी बनाउन हामीलाई प्रेसर थियो । गच्छदार, भानुराम, रुक्मिणी, लेखी कसलाई हामीले मान्ने भन्ने आम थारुको प्रश्न थियो । त्यतिबेला थ्रेसहोल्डका कुराहरु आउनथाले । त्यसकारण हामी एकीकरणमा गएका थियौं । हामीमात्र होइन, त्यहाँ दस पार्टी एकीकृत भएको थियो ।
रह्यो कांग्रेसमा नजानुको कुरा । मैले कार्यसम्पादन बैठकमा पटक पटक अध्यक्षलाई यसबारे प्रश्न र आफ्नो धारणा बताएको छु । मैले तराई केन्द्रीत पार्टीका भएकाले कि संघीय फोरम कि राजपासँग मर्जरमा जान सकिने कुरा बताएको छु । तर एक्कासी गच्छदारजीले कांग्रेससँग एकीकरण घोषणा गर्नुभयो । मैले उहाँलाई स्पष्टसँग भनेको थिएँ, तपाइँले अर्को नेता खोज्दै हिँड्नुभयो भने, म तपाईँको पछि लाग्नेछैन । बरु म पुनः थरुहट तराई पार्टी चलाउँछु ।

पछिल्लो समय फेसबुकमा तपाईँ निकै सक्रिय देखिनुभएको छ । विशेषत थारु नेताहरुको पोस्टमा खुबै जुहारी खेलेको देख्छु । थारु नेताहरुको के कुराले बढी रुष्ट हुनुहुन्छ ?
मैले कसैलाई गालीगलौज गरेको छैन । तँ फटहा, तँ चोर भनेको छैन । माओवादीले जनयुद्धकालमै थारुवानसहित १४ वटा राज्य चलाएका होइनन् ? तर तिनै नेताहरुले आन्दोलनका मर्म बिर्सेर व्यक्तिगत स्वार्थमा लागेका छन्, तिनीहरुलाई के भन्ने ? थरुहट तराई पार्टीलेमात्र १२३ वटा फाइल पठाएको छ । तर खै हाम्रो फाइल पल्टाएको ? अहिले माओवादीकै गृहमन्त्री बादलजी हुनुहुन्छ । उहाँले हाम्रो फाइल पल्टाउन पर्दैन ? थारु सांसदहरु छन्, मधेसी सांसदहरु छन् । ती सबैलाई फाइलको बारेमा थाहा छ । तर, किन उनीहरु फाइल पल्टाउनलाई दबाब दिँदैनन् । मेरा शब्द भलै तीतो होला तर सतप्रतिशत सत्य हो ।

समग्र थारुले तपाइँलाई एउटा थारु अगुवा, थारु नेताको रुपमा चिन्नुहुन्छ । थारुहरुको लागि तपाइँको पार्टीको योजना के छ ?
यो पार्टीमा ल्याउने सबैभन्दा बढी सहभागिता थारुहरुलाई गराउने हाम्रो उद्देश्य हो । थारुहरु यो देशको चौथो ठूलो जनसंख्या भएको जाति हो । तीन लाख जनसंख्या भएको लिम्बुवान बन्नसक्छ, केही लाख गुरुङहरुको प्रदेश बन्नसक्छ भने थारुहरुको किन नबन्ने ? थारुहरुको त २० जिल्लामा थातथलो बासोबास रहेको छ । अहिले यसरी प्रदेश बनाइएको छ कि थारुहरुलाई छिन्नभिन्न पारिदिएको छ । लिम्बु, गुरुङ, राईहरुले आफूलाई आदिवासी त भन्छन् तर थारुको सबालमा उनीहरु कोही बोल्दैनन्, मधेसीहरुले केही बोल्दैनन् । कुमार लिङ्देनजी आदिवासीका सबालमा चर्को कुरा गर्छन्, तर कार्यक्रम सकेपछि तिनै विरोधी केपी ओलीसँग कुम मिलाउन जान्छन् । त्यसकारण थारुहरुले पहिचान र अग्राधिकारको लागि धेरै मेहनत गर्ने देखिन्छ । त्यसैले सबै थारुहरु यो पार्टीलाई साझा पार्टीको रुपमा लिन म आह्वान गर्न चाहन्छु । थारुले मागिरहेको माग, मुद्दा अब यही पार्टीबाट उठाउन सम्भव छ । यसअघिका सबैले आफ्नो भित्रि स्वार्थ देखाहाले ।

अडियो सुन्नुहोस्




Leave a Reply

Your email address will not be published. Required fields are marked *