सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद, १५ जना रिहा हुँदै (सूची)

जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेेस्तेदार इन्द्रबहादुर कठायतले बताए ।

लक्ष्मण थारुसहित १२ जनालाई २ देखि ३ वर्ष कैद सजाय र बाँकी ३ जनाले सफाइ पाएका छन्। लक्ष्मणसहित सबैले तीन वर्ष जेल बसिसकेकाले आजै रिहा हुने भएका छन् ।

जन्मकैद सजाय पाउनेमा सांसद रेशम चौधरी, हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृजमोहन डगौरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सिताराम चौधरी, श्रवण चौधरी, र गंगाराम डगौरा छन्।

त्यस्तै २ देखि ३ वर्ष सजाय पाउनेमा लक्ष्मण थारु, लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरी, विश्राम भनिने जीतबहादुर डगौरा, प्रेमबहादुर चौधरी, किसनलाल चौधरी, दिलबहादुर चौधरी, संगम भनिने सन्तोष चौधरी, विश्राम चौधरी, चुन्नीराम चौधरी र रामप्रसाद चौधरी छन्। त्यस्तै  सफाइ पाउनेमा नुरुल अलि जागा, विसराम चौधरी र रामनरेश चौधरी छन्।

थरुहट आन्दोलनका क्रममा ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपमा नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको मृत्यु भएको थियो ।

घटनापछि फरार भएका चौधरी कैलाली १ मा राजपाबाट प्रतिनिधिसभा सदस्यको चुनाव जिते । वारेसमार्फत चुनाव जितेको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतसम्म गएका चौधरीले मुद्दा हारेपछि १४ फागुन २०७४ मा जिल्ला अदालत कैलाललीसामू आत्मसमर्पण गरेका थिए । तर, जेलमै रहेका बेला १९ पुस २०७५ मा सरकारकै जोडबलमा चौधरीले सांसदको सपथ लिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *