थाकसको योजना अब के हुनुपर्छ ?

भुवन चौधरी,
पौने एक सताव्दीको इतिहास बोकेको थारु कल्याणकारिणी सभाको २२ औं केन्द्रिय महाधिवेशन नयाँ नेतृत्वका साथ २२ बुँदे घोषणापत्र जारी गरी सम्पन्न भएको छ । तीस लाख थारुहरुको छाता संगठन (हाल कोमामा रहेको) थारु कल्याणकारिणी सभाको सात दशक भन्दा लामो इतिहासलाइ कोट्याएर हेर्ने हो भने यसको गन्तब्य कँहा हो ? यसको थ्यौरी (सिद्दान्त) के हो ? यसको नीति/रणनीतिहरु के के हुन् ? भेट्न मुस्किल छ । बिधानत: सामाजिक, सांस्कृतिक तथा आर्थिक रुपान्तरणका मुद्दाहरु उठान गर्ने उल्लेख भएतापनि समय सन्दर्भ अनुसार यसले वर्तमानमा राजनैतिक मुद्दाहरु पनि उठान गरिरहेको छ । जुन अपरिहार्य पनि हो र यसलाई था. क. स. ले उत्तर आधुनिक कालको उपज ठान्दछ । त्यसो त विना लगामको घोडा सरी अगाडी बढिरहेको यस संस्था संग आबद्द थारु समुदाय राज्यको मुलधारवाट अलग रहेको छ । यसको ज्वलन्त उदाहरण हो टिकापुर घटनाको नाममा सयौं थारुहरु झुठ्ठा मुद्दाको शिकार बन्नु, दर्जनौं थारुहरुलाई अनाहकमा जेलमा कोच्नु । हजारौं थारुहरु नेपाल वाट विस्थापित हुनु । यस्तो हुनुमा केहि न केहि हिस्सा था.क.स.को पनि छ भन्दा अत्युक्ति नहोला । किनकि था.क.स.को लिडरसिपमा संचालन भएका प्राय सबै आन्दोलनहरु योजनावद्द तरिकाला गएको देखिएन । विना योजना, विना सिद्दान्त तथा विना नीति/रणनीति उठेका संसारका धेरै आन्दोलनहरु तुहिएको हामीले हाम्रै आँखाले देखेका छौं । त्यसकारणले पनि था.क.स.ले आफूलाई गतिशील बनाउन तथा आफुले लिडरसिप गरेर हाँकेका आन्दोलनहरुलाइ परिणाममुखी बनाउन नयाँ थालनी गर्नु पर्ने जरुरी छ । यसको लागि सर्वप्रथम था.क.स.ले आफ्नो थ्यौरी के हो ? दृष्टिकोण के हो ? गन्तब्य कँहा हो ? उक्त थ्यौरी हाशिल गरी गन्तब्यमा पुग्ने नीति/रणनीति तथा योजना कार्यक्रमहरु के के हुन् ? निर्क्यौल गर्न आवश्यक छ । यस आलेखमा पंक्तिकारले यिनै विषयवस्तुहरुलाई छलफल तथा बहस गरी टुंगो लगाउन आफ्ना रायहरु अगाडी सार्ने प्रयास गरेको छ ।

थ्यौरी (सिद्दान्त) तथा गन्तब्य
नेपाली कांग्रेस प्रजातान्त्रिक समाजवादको सिद्दान्त बोकेर आगाडी बढ्यो, बढिरहेको छ । तत्कालिन एमाले बहुदलीय जनबादको सिद्दान्त बोकेर अगाडी बढ्यो । तत्कालीन् एमावोबादी सशस्त्र जनयुद्द मार्फत साम्यवाद हाशिल गर्ने सिद्दान्त अंगिकार गरेको थियो । रा.प्र. पा. ले संवैधानिक राजतन्त्रको सिद्दान्त बोकेर अगाडी बढिरहेको छ । जुन् पार्टीहरुको गन्तब्य भनेको सत्ता प्राप्ति गरी आफ्नो लिडरसिपमा आफ्नै सिद्दान्त अनुरुप राज्य संचालन गर्ने रह्यो र त आज उनीहरु नेपाल राज्यको मूलधारमा उभिएका छन् । अत: थारुहरुलाई राज्यको मूलधारमा ल्याउने हो भने था. क.स.ले पनि आफ्नै थ्यौरी प्रतिपादन गरी सोहीअनुसार गन्तब्य निर्धारण गरी अगाडी बढ्न जरुरी छ ।

दृष्टिकोण तथा सम्वन्ध
कुनैपनि संस्था वा समूह गतिशील हुनका लागि वरिपरीको इन्भायरोमेन्टको पनि ठुलो हात हुन्छ । वरिपरी रहेका अन्य संघ संस्थाहरुलाई प्रतिको दृष्टिकोण र ती संस्थाहरुले उसलाई हेर्ने दृष्टिकोण नजरले पनि त्यस संस्थाको गतिशीलता निर्भर गर्दछ । त्यसकारण था.क.स.ले यदि आफुलाई गतिशील बनाउने हो भने प्रत्यक्ष अप्रत्यक्ष रुपमा आफुसंग सम्बन्ध राख्ने इन्स्टिच्युयसनहरुलाई हेर्ने दृष्टिकोण क्लियर गर्न जरुरी छ ।

राज्यलाई हेर्ने दृष्टिकोण
राज्यका अनिवार्य शर्त भनेका भूगोल र जनता (जोग्राफी एण्ड पपुलेशन) हुन् । सिद्दान्तत: राज्य बन्नका लागि निश्चित भूगोल र त्यस क्षेत्रमा वसोबास गर्ने सम्पूर्ण जनता हुनु पर्दछ । संविधानत: नेपालमा वसोबास गर्ने सबै जानातालाई समान व्यवहार गर्ने उल्लेख गरिएतापनि नेपाल राज्यले पूर्ब मेची देखी पश्चिम महाकालीसम्मको भूगोल र खस आर्य इतरका जानातालाई मात्रै राज्य भित्र समाबेश गरेको देखिन्छ । यस्तो अबस्थामा था.क.स.ले राज्यलाई हेर्ने दृष्टिकोण तय गर्न नितान्त आवश्यक छ र सोही वमोजिम राज्यसंग सम्वन्ध गाँस्न/विस्तार गर्न जरुरी छ ।

संविधानलाई हेर्ने दृष्टिकोण
नेपालको संविधान २०७२ को प्रस्तावनामा जे सुकै लेखिएको भएतापनि संविधानको यो संविधानको पहिलो केज देखी अन्तिम पेजसम्म बिस्तृत रुपमा हेर्दा अहिले सम्मका संविधानहरुभन्दा परिस्कृत भएतापनि सारमा खस आर्यहरुले दिने र बाहेकका जाति, वर्ग, समुदायहरुले भिखारी सरह माग्ने प्रकृतिको छ । मुट्ठीभर खस आर्यहरुको कब्जामा रहेको नेपालको संविधानलाई था.क.स.ले कुन तरिकाले हेर्छ ? तय गर्नै पर्छ ।

राज्य पुनर्संरचना सम्वन्धि दृष्टिकोण
सिदान्तत: नेपाल एकात्मक राज्य वाट संघीय राज्यमा ट्रान्सफर भएको छ । एक तहको केन्द्रिकृत राज्य संरचनावाट तिन तहको विकेन्द्रित राज्य संरचना संस्थागत भएको छ । एक आपसमा अन्तरसम्बन्धित रहेतापनि संघीय, प्रदेश र स्थानीय गरी तिन तहका अधिकार सम्पन्न सरकारहरु स्थापित भएका छन् । संविधानत: नेपालमा सात प्रदेश र ७५३ वटा स्थानीय सरकारहरु छन् । यसरी सिमांकन गरिएका प्रदेश विभाजन प्रति था.क.स.को आधिकारिक धारणा के हो ? स्पष्ट रुपमा आउनु पर्दछ । यदि यसैलाई मान्ने हो भने यसै बमोजिम आफ्नो सांगठानिक संरचना विस्तार गर्नु पर्छ । होइन भने था.क.स.ले अगाडी सारेको प्रदेश विभाजनको खाका के हो ? सोही बमोजिम अगाडी बढ्न जरुरी छ । यसै गरी बिध्यमान स्थानीय सरकारहरु गाउँ पालिका र नगर पालिकाको संरचना र यिनीहरुको सिमा विभाजनलाइ मान्ने कि नमान्ने ? स्थानीय सरकारहरुसंग कस्तो सम्बन्ध स्थापित राख्ने ? स्पष्ट हुनु पर्दछ । किनकि थारु समुदायको स्थानीय विकासको लागि स्थानीय सरकारसँगको अन्तरसम्बन्ध नितान्त आबश्यक छ ।

राजनैतिक दलहरुलाई हेर्ने दृष्टिकोण
नेपालको संविधानले राज्य सत्ताको बागडोर सम्हाल्ने जिम्म्मा राजनैतिक दललाई दिएको छ । राजनैतिक दल विना नेपाल राज्यको विकासको परिकल्पना गरिएको छैन । नेपालमा च्याउ उम्रेसरी राजनैतिक दलहरु स्थापना भएतापनि नेपालको संविधान २०७२ को प्रावधान अनुरुप अहिले राजनैतिक दलहरुको संख्या खुम्चिएको छ । बिशेष गरेर नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, मधेशी जनअधिकार फोरम, रास्ट्रिय जनता पार्टी, रास्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी लगाएतका दलहरु अस्तित्वमा रहेका छन् । था.क.स. र नेपालका राजनैतिक दलहरु बिचको ऐतिहासिक सम्वन्ध विश्लेषण गर्दा सबै दलहरु बर्ग सत्रुको रुपमा उभिएको देख्न पाइन्छ । त्यसो त तुलनात्मक रुपमा केही दलहरुले थारु समुदाय प्रति बर्ग मित्रको रुपमा व्यवहार गरेको पनि देखिन्छ । तसर्थ था.क.स.ले नेपालमा बिध्यमान राजनैतिक दलहरुको सिदान्त र व्यवहारलाइ विश्लेषण गरि कुन दल बर्ग मित्र हो ? कुन दल बर्ग सत्रु हो ? निर्क्यौल गरि सोही बमोजिम उनीहरुलाई हेर्ने दृष्टिकोण तथा धारणा बनाउन र सम्बन्ध विस्तार गर्न जरुरी छ ।

गैह्र सरकारी संस्था(गै.स.स.)हरुलाई हेर्ने दृष्टिकोण
कुनै देश गरिव हुनु र गै.स.स.हरुको बृधि हुनु सामान्य सिदान्त हो । गरिव/अल्पविकसित देशहरुको गै.स.स.हरुको बृधिसंग पोजेटिभ एशोसियसन हुन्छ । त्यस कारणले होला अल्पविकसित देश नेपालमा राष्ट्रिय अन्तर्राष्ट्रिय गै.स.स.हरुको बाख्लो उपस्थिति रहेको छ । नेपालमा कार्यरत गै.स.स.हरुले नेपालको विकासमा मात्रै नभएर रास्ट्रिय नीतिमा समेत प्रभाव पारेको पाइन्छ । यस्तो अबस्थामा नेपालमा बस्ने थारु समुदायहरु गै.स.स.हरुले चाल्ने कदमवाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभावित हुन्छन/भएका छन् । तसर्थ था.क.स.ले पनि नेपालमा कार्यरत राष्ट्रिय अन्तराष्ट्रिय गै.स.स. प्रतिको दृष्टिकोण र उनीहरुसंग स्थापित गर्ने सम्बन्ध स्पष्ट पार्नु पर्छ ।

अन्तराष्ट्रिय सम्बन्ध तथा दृष्टिकोण
विश्व ग्लोबल भिलेजको रुपमा अगाडी बढिरहेको छ । टेक्नोलोजीको छलांगले गर्दा विश्व एउटा गाउँ अथवा भनौ एउटा घरको रुपमा परिणत हुदैछ । यस्तो अबस्थामा कुनै पनि देशमा बस्ने जाति, बर्ग, धर्म, समुदायका मानिसहरुको आर्थिक, सामाजिक, राजनैतिक तथा सांस्कृतिक विकास र परिवर्तनमा अन्तर्राष्ट्रिय समुदाय संगको सम्वन्धले प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभाव पार्दछ । त्यसकारण नेपालमा वसोवास गर्ने थारु समुदयको रुपान्तरणको लागि अन्तर्राष्ट्रिय समुदायसंग के कस्तो सम्वन्ध स्थापित गर्ने हो त्यो स्पष्ट हुनु पर्दछ । नेपालको छिमेकी मुलुकहरु भारत अनि चिनलाइ कसरी हेर्ने, सार्क मुलुकहरु, बिमस्टेक मुलुकहरु, खाडी मुलुकहरुलाई हेर्ने दृष्टिकोण के हो ? साथै विश्वका अन्य मुलुकहरुलाई पनि था.क.स.ले कुन तरिकाले हेर्ने हो त्यो निर्क्योल गर्नु पर्छ । किनकि विश्व जगतसंगको सौहार्दपूर्ण तथा मैत्रीपूर्ण सम्बन्धले था.क.स.लाइ पक्कै पनि गतिशील बनाउनेछ ।

आफ्ना भातृ संगठनहरुलाइ हेर्ने दृष्टिकोण
थारु महिला सभा, थारु युवा सभा, थारु बिद्यार्थी सभा, थारु कलाकार सभा, थारु कानुन व्यावसायी सभा लगायतका थारु संग सम्बद्ध संघ संगठनहरु था.क.स.का भातृ सङ्गठनका रुपमा परिचित छन् । उल्लेखित भातृ संगठनहरुको उचित परिचालन विना था.क.स.ले संचालन गर्ने आन्दोलन लगायत अन्य क्रियाकालापहरु अगाडी बढाउने परिकल्पना गर्न सकिदैन । किनकि अहिले था.क.स.को अगुवाइमा जति पनि आन्दोलानका क्रियाकालापहरु भए सबैमा भातृ संगठनहरुको प्रत्यक्ष संग्लग्नतामा मात्र सफल भएका छन् । त्यसो त था.क.स.ले आफ्ना भातृ सङ्गठनहरुलाई हेर्ने नजर के हो ? उनीहरुसंगको सम्वन्ध के हो ? र उनीहरुलाई कसरी परिचलान गर्ने भन्ने बारेमा प्रष्ट रुपमा खुल्न/खुलाउन सकिरहेको छैन । तसर्थ यदि था.क.स.ले आफुलाइ गतिशील बनाइ थारुहरुको राजनैतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने हो भने भातृ सङ्गठनहरुलाई हेर्ने र उनीहरुलाई परिचालन गर्ने स्पष्ट खाका तयार गरी अगाडी बढ्न अनिवार्यता छ । क्रमश …

लेखक थाकस दाङका सभापति हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *