राजुप्रसाद थारुको कथा : यसरी मासिक दुई लाख कमाउँछन्
प्रकाश आचार्य/लोकान्तर।

हनत गरे, स्वदेशमै गतिलो अर्थोपार्जन सम्भव छ । पछिल्लो समय व्यावसायिक कृषिमा लागेर युवा पुस्ताले विदेशमा जस्तै गाउँमै कमाइ गर्न थालेका छन् । कृषि र पोल्ट्री व्यवसाय अहिले युवाको रोजाइँमा परेको छ ।

कुखुरा विस्तारसँगै पोल्ट्री व्यवसायमा युवा आकर्षित भएको देखिन्छ । भारतबाट कुखुरा र चल्ला आयातमा सरकारले रोक लगाएर सहयोग पुर्‍याइदिएको छ । विदेशमा गर्ने मेहनत स्वदेशमै गर्छु भनेर पोल्ट्री व्यवसायमा हात हालेर विभिन्न ठक्कर खाँदै जमेका युवा हुन् बुटवलका राजुप्रसाद थारू ।

रोजगारीको सिलसिलामा ३ वर्ष साउदी अरब र ३ वर्ष मलेसियामा काम गरेर फर्किएका विपन्न परिवारका राजुले बुटवल उपमहानगरपालिका–१६ सेमलारमा व्यावसायिक कुखुरापालन गर्दै आएका छन् । चौधरी कृषि फार्म एण्ड ह्याचरी उद्योग सञ्चालन गरेका थारुले विदेशभन्दा राम्रो कमाइ गरेर परिवारसँगै रमाएका छन् ।

राजु विदेशमा रहँदा सवारी चालकको रूपमा काम गरेका थिए । आम्दानी पनि राम्रै थियो । मासिक १ लाख रुपैयाँसम्म कमाइहुन्थ्यो । ऊर्जाशील समय विदेशमा बिताएपछि राजुलाई लाग्यो, अर्काको मुलुकमा पसिना बगाउनुभन्दा आफ्नै भूमिमा गएर मेहनत गर्छु । त्यसपछि राजुले आफ्नो सबै सोच परिवर्तन गरेर नेपाल फर्किए । बुटवल शहर नजिकै सेमलारमा आफ्नै प्रशस्त जग्गा थियो ।

विदेशबाट फर्किएपछि शुरूका २–३ वर्ष अन्य काम थालेका उनी त्यसबाट सन्तुष्ट भएनन् । त्यसपछि राजुले कुखुरा पाल्ने सोच बनाए । २०७२ सालमा आधुनिक खोर बनाएर लेयर्स (अण्डा दिने) कुखुरापालन शुरू गरे उनले ।

शुरूआतमा १ हजार लेयर्स कुखुरा फर्ममा राखेका राजुलाई पहिलो लटमै अण्डामा राम्रो उत्पादन हुन थाल्यो । आम्दानी बढ्दै गयो । व्यवसायबाट हौसिएका उनले त्यसको २ वर्षपछि थप २ हजार कुखुरा थपे ।

कुखुरा थप गर्नासाथ राजुलाई विपत्ति आइलाग्यो । कुखुरा थप हुनासाथ फर्ममा रानीखेत रोगले संक्रमण भयो । दैनिक रूपमा कुखुरा मर्दै जान थाले । बाँचेका कुखुराले पनि अण्डा उत्पादन गर्न सकेनन् । कुखुरा बचाउने अनेकन प्रयास गर्दागर्दै पनि २०७५ सालमा खोर नै रित्तियो ।

३० लाख रुपैयाँ लगानी गरेर लेयर्स कुखुरापालन गरेका राजुले ३ वर्षमा लगानी उठाउन सकेनन् । तर थारूले हिम्मत भने हारेनन् । लेयर्सबाट घाटा भए पनि लोकल कुखुरापालन गरेर घाटाको पूर्ति गर्ने योजना बनाए उनले । अनि पुनः फार्मको विस्तारमा लागे । त्यसपछि लोकल कुखुरापालन शुरू गरे । फर्ममा लगानी बढाए । ५८ लाख रुपैयाँको खोर मात्र बनाए ।

सेमलारमा रहेको आफ्नै २८ कठ्ठा जग्गामध्ये थारूले १३ कठ्ठामा फार्म विस्तार गरिसकेका छन् । हाल फार्ममा १ हजार ७०० लोकल कुखुरा, गिरिराज (अण्डा र मासु दुवै प्रयोजनका लागि पालिने कुखुरा) ४००, हाँस ३०० र ५० वटा कडकनाथ कुखुरा रहेका छन् । कुखुरापालन फस्टाएर राम्रो कमाइ हुन थालेपछि राजुले आफैं ह्याचरी गरी चल्ला समेत बिक्री थालेका छन । २ वटा ह्याचरी मशिन ल्याएर चल्ला उत्पादन गरी बिक्री पनि बढाउँदै लगेका छन् ।

फर्ममा बट्टाईको अण्डा पनि ह्याचरी गरेर चल्ला निकाल्ने गरिएको छ । हाँसको अण्डा ह्याचरी गर्न नमिल्ने भएकाले आफैं कोरल्ने र चल्ला बिक्री गर्ने गरेको राजु बताउँछन् ।

अझै पढ्नुहाेस