नेपाल-भारत संयुक्त आयोगको बैठक पुस १९ मा, विदेशमन्त्री एस जयशंकर आउँदै

भारतीय विदेशमन्त्री एस जयशंकर पुस १९ गते नेपाल भ्रमणमा आउने भएका छन्। नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी नेपाल आउने भएका हुन।

भारतीय वायुसेनाको विशेष जहाजबाट विदेशमन्त्री एस जयशंकरको टोली काठमाडौं आउने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। टोलीमा विदेश सचिव विनयमोहन क्वात्रा, नेपाल डेस्क प्रमुख अनुराग श्रीवास्तवलगायत उच्च अधिकारीहरू हुनेछन्।

नेपाल-भारत संयुक्त आयोगको बैठक पुस १९ गते नै बस्नेछ। बैठकमा नेपाल र भारतबीच द्विपक्षीय हितका विषयमा छलफल हुने बताइएको छ। नेपाल भ्रमणमा रहँदा विदेशमन्त्री जयशंकरको टोलीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्नेछ।

परराष्ट्र मन्त्रालयले उनीहरूको सम्मानमा सोही दिन रात्रिभोजको आयोजना गर्नेछ। विदेशमन्त्री एस जयशंकरको टोली पुस २० गते भारत फर्किने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *