साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

नेपालले साउदी अरेबियालाई हराउँदै एसीसी प्रिमियर कपमा अपराजित यात्रा कायम राखेको छ। ओमानमा बुधबार भएको खेलमा नेपालले साउदीलाई ६ विकेटले पराजित गरेको हो। यससँगै नेपाल सेमिफाइनल प्रवेश गरेको छ।

वर्षाका कारण पिच प्रभावित भएपछि ८ ओभरमा झारिएको खेलमा साउदीले नेपाललाई ७४ रनको विजय लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले ७.२ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।

नेपालका लागि गुल्शन झाले सर्वाधिक अविजित ३२ रन बनाए। उनले १९ बलमा २ चौका र २ छक्का प्रहार गरे। त्यस्तै कप्तान रोहित पौडेलले अविजित १६ रन बनाए। ७ बलमा उनले १ चौका र १ छक्कासहित १६ रन बनाए। त्यस्तै दीपेन्द्र सिंह ऐरीले १७ रन बनाए। ९ बल खेलेका ऐरीले ३ चौका प्रहार गरेका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउदीले निर्धारित ८ ओभरको खेलमा ७ विकेट गुमाएर ७३ रन बनाएको थियो। साउदीका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। नेपालका लागि करण केसी र अविनाश बोहोराले २-२ र ललित राजबंशी र प्रतिश जिसीले १-१ विकेट लिए।

वर्षाका कारण पिच प्रभावित भएपछि खेल ८ ओभरमा झारिएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *