संघीयताका सबै गाँठा छिट्टै फुकाइँदैछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयताका सबै गाँठाहरू छिट्टै फुकाउन लागिएको दाबी गरेका छन्। देशबासीको नाममा मंगलबार सम्बोधन गर्दै उनले संघ, प्रदेश र स्थानीय तहको कार्यसम्पादनमा देखिएको दोहोरोपन र अस्पष्टता हटाउन कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जन गरिने बताए।

उनले मुख्यमन्त्रीहरूको असन्तुष्टि आफूले सुनेको भन्दै प्रदेशलाई बलिया बनाएर लैजाने पक्षमा आफू दृढ रहेको बताए।

संघीयताबारे उनले यसो भने-

म प्रदेशलाई बलियो बनाएर लैजानुपर्छ भन्ने पक्षमा दृढ छु । पछिल्लो समय प्रदेश मुख्यमन्त्रीहरूको असन्तोष मैले सुनेको छु र बुझेको पनि छु। म आज यही सम्बोधनबाट उहाँहरूलाई विश्वास दिलाउँछु, संघीयताका सबै गाँठा निकै छिटो फुकाइँदैछन्। राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठक मैले नै डाकेको हुँ। सङ्घ, प्रदेश र स्थानीय तहको कार्यसम्पादनमा देखिएको दोहोरोपन र अस्पष्टता हटाउन कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जन गरिँदैछ। राष्ट्रिय सभाको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका सिफारिसहरू पनि कार्यान्वयनको चरणमा छन्। पूर्वाधार विकासमा थप गति दिन संविधानबमोजिम तीन तहका सरकारबीचको कार्यक्षेत्रमा स्पष्टता ल्याई पूर्वाधार विकासका कार्यक्रममा रहेको दोहोरो-तेहेरोपन हटाइँदैछ। सरकारका तीनै तहबीच प्रशासनिक समन्वय र सहकार्यका लागि नेपाल सरकारका मुख्यसचिवको संयोजकत्वमा प्रदेशका प्रमुख सचिवहरू सम्मिलित प्रशासनिक समन्वय परिषद्को बैठक बसेर आवश्यक काम गरिरहेको छ। संघीयतालाई वास्तविक रूपमा नै कार्यान्वयन गर्न म प्रतिबद्ध र दृढ छु। यसका लागि जरूरी कानून तुरुन्त ल्याउन म तयार छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *