नवलपुरमा नचियो थारू समुदायको पौराणिक मेडरी नाच, तस्बिरमा हेर्नुस्

थारू समुदायको पौराणिक महत्व बोकेको मेडरी नाचप्रति युवापुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ। थारू समुदायले परापूर्वकालदेखि नाच्दै आएको मेडरी नाचप्रति युवा पुस्ताको चासो कम हुँदा लोप हुने अवस्थामा पुगेको हो।

नवलपुरका थारु समुदायले कला र संस्कृतिको जगेर्ना गर्न लागि परेका छन्। संस्कृतिको जर्गेना गर्न प्रत्येक वर्ष हरिबोधिनी एकादशीको दिन मेडरी नाच देखाउने प्रचलन छ।

महाभारतको लडाइँमा अर्जुनको रथको ध्वजाका रूपमा बीचमा ध्वजापताका सहितको ठूलो बाँसको लिङ्गो लिएर घुम्ने गरिन्छ भने मेडरी नाच्दा मादल, झ्याली, तरवारको प्रयोग हुन्छ। थारू संस्कृतिको पहिचान स्थापित गर्नमा यो नाचको निकै महत्व छ। प्रत्येक वर्ष हरिबोधिनी एकादशीको दिन कावासोती १५ मा अवस्थित गुन्द्रही मेलामा आफूहरूले पनि मेडरी नाच नचाउने गरेको मध्यबिन्दु ३ का थारू अगुवा जुगतराम थनेतले बताए।

‘मेडरी नाच कृष्णलीलामा आधारित भवरा, महाभारतमा आधारित र रामलीलामा आधारित सीताहरण गरी तीन प्रकारको हुन्छ। महाभारतको लडाइँमा पाँच पाण्डवहरूले प्रयोग गरेका सामानहरू लिएर समूहमा गोलाकार भएर नाचिन्छ। यस नाचमा कम्तीमा एक सय र बढीमा एक सय ५० नचनियाहरू गोलाकार रूपमा नाच्ने गरिन्छ,’ मध्यबिन्दु ३ का वडाध्यक्ष मानबहादुर महतोले भने।

थारु समुदायको गहनाको रूपमा रहेको ‘दैवी शक्तिमा आधारित मेडरी नाच विशेष गरी दसैं, तिहारलगायत पर्वमा नचाइने गरिन्छ। अन्य शुभकार्यमा पनि यो नाच नाच्ने गरिन्छ,’ उनले भने, ‘पितृ औँसीमा पितृ विसर्जन गरेपछि सुरु हुने यो नाच प्रत्येक वर्ष हरिबोधिनी एकादशीसम्म नचाइने गरिन्छ।’ अहिलेको नयाँ पुस्ताले भने मेडरी नाचको महत्व बिर्सिँदै गएको थनेतको बुझाइ छ।

तस्बिर : नेत्र थनेत




Leave a Reply

Your email address will not be published. Required fields are marked *