‘टिकटकर नेताहरू’लाई मेरो प्रश्न- देशको सुरक्षाभन्दा ठूलो टिकटक हो?

प्रदीप यादव।

नेपाल सरकारले चिनियाँ सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध केही नेपाली ‘टिकटकर नेताहरू’लाई पचेको छैन। किनकि टिकटककै कारण केही नेताहरू रातारात जन्मेका छन्। अहिले टिकटक बन्द हुँदा ती नेताहरूको निन्द्रा नै हराम भएको छ। यहाँसम्म कि समाजसेवाको देखावटी खोल ओढेकाहरूले पनि रोइलो गरिरहेका छन्। साइबर सेना बनाएर सस्तो लोकप्रियता कमाउने उनीहरूमा रूवाबासी चलेको छ।

टिकटक बन्द गर्ने सरकारको निर्णयले ‘फेक आइडी’ खोलेर लोकप्रिय कमाउने टिकटक बिशेषज्ञ एवं राजनीतिक मौसमविद्हरूको सपना चकनाचूर भएको छ। केही राजनीतिक मौसमविद्हरू जसरी मौसम परिवर्तन भएसँगै मान्छेले आफ्नो काम फेर्छ, त्यसरी नै सस्तो लोकप्रियतामा लागेका ती नेताहरू अहिले बोली फेर्दै रुवाबासी गरिरहेका छन्।

सरकारको तर्फबाट तिहारको ‘सर्प्राइज’ उपहारस्वरूप आएको टिकटकमाथिको प्रतिबन्धले टिकटकर नेताहरूको चिन्ता असाध्यै बढेको छ। किनभने लामो समयदेखि टिकटकमार्फत् भ्रम सिर्जना गरेर आम नेपाली जनतालाई गुमराहमा पारिरहेका उनीहरूलाई यो निर्णयले ठूलो धक्का लागेको छ। टिकटक प्रतिबन्धसँगै उनीहरूको सस्तो लोकप्रियता कमाउने माध्यममाथि नै सरकारले अंकुश लगाइदिएको छ।
टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय उपयुक्तमात्र छैन, समय सान्दर्भिक र सबै दृष्टिकोणले महत्वपूर्ण पनि छ। किनभने पछिल्लो समय सामाजिक सञ्जाललाई दुरुपयोग गरेर नेपालमा बसोबास गर्ने विभिन्न समुदाय, धर्म, संस्कृति र भेषभुषाका व्यक्तिहरूबीचको सामाजिक सद्भाव र पारिवारिक एकतामाथि खलल पुर्‍याउने काम भइरहेको सर्वविदितै छ। यसमा सामाजिक सञ्जालहरूमध्ये पनि टिकटकको सबैभन्दा ठूलो भूमिका छ।

उदाहरणका लागि केही समय अगाडि देशका विभिन्न स्थानमा भएका धार्मिक सद्भाव बिथोल्ने दुष्प्रयासलाई नै हेरौं। त्यो बेला हिंसात्मक भाषण दिनेदेखि एक अर्काको धर्ममाथि आँच पुग्ने किसिमका अभिव्यक्ति दिने कामलगायतका अधिकांश हर्कतहरू टिकटककै माध्यमबाट भएका थिए। यद्यपि यस विषयमा टिकटकर नेताहरूले कहिल्यै बोलेको पाइँदैन। किनभने उनीहरूलाई देशको सामाजिक र धार्मिक सद्भाव भन्दा पनि आफ्नो सस्तो लोकप्रियता नै प्यारोजस्तो देखियो।

देशमा टिकटकमार्फत् हिंसा फैलिरहँदा नबोल्नेहरू आज प्रतिबन्ध लागेपछि अभिव्यक्तिमाथि अभिव्यक्ति दिइरहेका छन्, नियमनका कुरा गरिरहेका छन्। त्यही कारणले समाजभित्र विसङ्गती, विकृति र अराजकता फैलाउने प्रवृत्तिलाई नियन्त्रण तथा नियमन गर्ने मनसायबाट प्रेरित भएर टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय सोह्रै आना जायज छ। मुलुकको सुरक्षा जोखिममा हुँदा सरकारले जुनसुकै बेला टिकटकजस्ता सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउन सक्नुपर्छ।

त्यसमाथि टिकटकजस्ता सामाजिक सञ्जालमार्फत् वर्षेनि अर्बौँ रुपैयाँ देशबाट बाहिर गइरहेको छ। टिकटकमा लाइभ बसेर गिफ्ट किन्ने र दिने परिपाटीका कारण नेपालीले दैनिक लाखौं रुपैयाँ खर्चिरहेका छन् भने लाइक, कमेन्ट र फ्लोअर्सका लागि युवाहरू अश्लीलता र आफ्नै ज्यानै जाने किसिमको जोखिमपूर्ण कामसमेत गरिरहेका छन्। टिकटकमार्फत् हुने ठगी, चरित्रहत्या, ब्ल्याकमेलिङलगायत अन्य आपराधिक गतिविधिहरूको नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरीको चाङ नै थुप्रिएको छ। यसले पनि टिकटक हाम्रो समाज र देशका लागि कति घातक छ भन्ने कुरालाई प्रस्ट पार्छ।

त्यस्तै कलिलो उमेर समूहका युवायुवतीहरू शिक्षा लिनुको साटो टिकटक स्टार बन्ने लोभमा आफ्नो पढाई नै चौपट गरिरहेका थिए। टिकटकका कारण आम नेपाली सर्वसाधारणको गोपनियतासमेत जोखिममा छ। चिनियाँ प्राविधिक कम्पनी बाइटड्यान्सको स्वामित्वमा रहेको टिकटकले नेपाली नागरिकबाट जम्मा गर्ने डेटालाई समेत दुरुपयोग गर्दै आएको छ। यस्तै खालका सुरक्षा जोखिमकै कारण संसारका अन्य कयौं देशहरूले यसअघि नै टिकटकमाथि प्रतिबन्ध लगाइसकेका छन्। उदाहरणका लागि छिमेकी मुलुक भारत, युरोपेली देशहरू बेलायत, बेल्जियम, डेनमार्क, फ्रान्स, लात्भिया, नर्वे, न्यु जिल्यान्ड, क्यानडा, पाकिस्तान, ताइवान, अमेरिकालगायतका देशहरूले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरिसकेका छन्।

अन्त्यमा टिकटकजस्ता सामाजिक सञ्जालले प्रयोगकर्ताहरूको मनोसामाजिक स्वास्थ्यमाथि पनि असर पुर्‍याइरहेको कयौं अध्ययनहरूले देखाएका छन्। जसले गर्दा आत्महत्या, हत्या, हिंसा र अन्य आपराधिक घटनामासमेत वृद्धि भएको छ।

तसर्थ सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध देश र जनताको हितमा रहेको छ। समाजभित्र फैलिँदै गएको विकृति, अपराधलाई नियन्त्रण गर्न र समग्रमा देशलाई एउटा ठूलो जोखिमबाट जोगाउन सरकारको यस निर्णयको विरोध गर्नुको कुनै कारण वा तुक नै छैन। मलाई यतिसम्म जानकारी छ कि सरकारको यो निर्णयको बाहिर विरोध गर्ने नेताहरू स्वंयले पनि भित्रभित्रै समर्थन पनि गरिरहेका छन्। म आफू नै टिकटक प्रयोगकर्ता भए पनि सरकारको यो जायज निर्णयको पूर्ण समर्थन गर्दै आइरहेको छु।

लेखक जनता समाजवादी पार्टीका प्रमुख सचेतक हुन्




Leave a Reply

Your email address will not be published. Required fields are marked *