मधेस प्रदेशमा जब पूर्वमन्त्रीले गृहमन्त्रीको कार्यकक्षमै छिरेर कर्मचारीलाई निर्देशन दिए…

अजय अनुरागी/लोकान्तरबाट साभार
मधेश प्रदेश सरकारका पूर्व गृहमन्त्री मोहम्मद समिम सोमबार गृह मन्त्रालय पुगेर मन्त्रीकै कुर्सीमा बसी कर्मचारीलाई निर्देशन समेत दिएको पाइएको छ । गृह, सञ्चार तथा कानून मन्त्रालयमा सोमबार झन्डै २ घण्टा जति बसेका उनी मन्त्रीको कार्यकक्षमा छिरेर मन्त्री बस्ने कुर्सीमै बसेको एक कर्मचारीले बताए । आफू फेरि मन्त्री बनेर आउन लागेको भन्दै उनले करारका कर्मचारीलाई बोलाएर विभिन्न निर्देशन समेत दिएको ती कर्मचारीको भनाइ छ ।

‘पूर्व गृहमन्त्रीज्यू हिजो कार्यकक्षमा आएर मन्त्री बस्ने कुर्सीमा बसी फेरि म नै गृहमन्त्री बनेर आउँदैछु भन्नुभयो,’ ती कर्मचारीले लोकान्तरसँग भने, ‘के कति फाइलहरू छन्, सबै ल्याऊ भन्दै निर्देशन दिनुभयो ।’ समिमले आफ्नो कार्यकालमा नियुक्त गरिएका करारका कर्मचारीहरूलाई बोलाएर निर्देशन दिएको उनको भनाइ छ ।

‘निवर्तमान मन्त्री (राजकुमार लेखी)को कार्यकालमा के–के काम भयो, सबै फाइल ल्याऊ भनेर निर्देशन दिनुभयो,’ ती कर्मचारीले भने, ‘सचिवज्यू समेत मन्त्रालयमा नभएका बेला उहाँ आएर त्यसरी निर्देशन दिँदा हामी सबै अलमलमा परेका थियौं ।’

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिएपछि मधेशमा गृहमन्त्रालय नेतृत्वविहीन छ । सोमबारको घटनापछि मन्त्रीको कार्यकक्षमा मंगलबारबाट ढोका लगाइएको छ । पूर्वमन्त्री समिम सोमबार मन्त्रीको कार्यकक्षमा आएर मन्त्रीकै कुर्सीमा बसेको विषयमा जिज्ञासा राख्दा मन्त्रालयका प्रवक्ता उत्तमप्रसाद खरेलले आफू काठमाडौंमा रहेको बताए ।

सचिव वीरेन्द्र यादव पनि आफूलाई थाहा नभएको भन्दै पन्छिन खोजे । ‘हिजो क्याबिनेट बैठक थियो । त्यसकारण लामो समय मुख्यमन्त्री कार्यालयमै थिएँ,’ सचिव यादवले लोकान्तरसँग भने, ‘त्यसैले मलाई केही थाहा छैन, सूचना अधिकारीलाई सोध्नुस् ।’

मन्त्रालयका सूचना अधिकारी सन्दीपकुमार सिंहले पूर्वमन्त्री समिम मन्त्रालयमा आएको स्वीकारे । तर, मन्त्रीको कुर्सीमा भने नबसेको उनको भनाइ छ । ‘उहाँ मन्त्रीको कुर्सीमा बस्नुभएको होइन । मन्त्रालयको इन्जिनीयर तस्वे जुली राइनको कार्यकक्षमा बस्नुभएको हो,’ सूचना अधिकारी सिंहले लोकान्तरसँग भने, ‘करिब १ बजेदेखि २ बजेसम्म उहाँ मन्त्रालयमा हुनुहुन्थ्यो ।’

नेपाली कांग्रेसका सांसद समेत रहेका पूर्वमन्त्री समिम भने आफू मन्त्रालयमा चिया खान मात्र गएको बताए । ‘हिजो नेपाली कांग्रेस मधेश प्रदेशका मुख्य सचिव पनि मसँगै हुनुहुन्थ्यो । शुरूमा मुख्यमन्त्री कार्यालयमा गएको थिएँ । त्यसपछि केहीबेर भौतिक पूर्वाधार मन्त्रालयमा गएको थिएँ,’ समिमले लोकान्तरसँग भने, ‘आएका बेला गृह मन्त्रालयमा पनि जाऊँ भनेर गएको हो ।’

आफू मन्त्रालयमा गए पनि गृहमन्त्रीको कार्यकक्षमा नबसेको उनको जिकिर छ । ‘राज्यमन्त्री बस्ने कार्यकक्षअगाडि रहेको वेटिङरूममा बसेर कर्मचारीहरूसँग कुराकानी गरेको हो,’ उनले थपे, ‘मैले रक्सी खाएको कुरा पनि हावादारी हो । मैले रक्सी खाएको कसैले प्रमाणित गरिदियो भने सांसदबाट समेत राजीनामा गरिदिन्छु । ‘




Leave a Reply

Your email address will not be published. Required fields are marked *