रेशम चौधरीको आम माफीविरूद्धको सुनुवाइ स्थगित

नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं पूर्वसांसद रेशम चौधरीको कैद माफी मिनाहा गर्ने निर्णयविरुद्ध परेको रिटनिवेदनको सुनुवाइ स्थगित भएको छ। निवेदन सुनुवाइका लागि विहीबार पालो तोकिएकोमा सर्वोच्च अदालत प्रशासनबाटै सुनुवाइ स्थगित भएको हो।

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार रिट निवेदनको समूह नै स्थगितमा परेपछि रेशमविरुद्धको मुद्दा पनि स्थगितमा परेको हो गोला तान्ने क्रममा रिट समूहको गोला कुनै पनि न्यायाधीशले नतानेका हुन्।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको दिन चौधरीलाई बाँकी कैद मिनाहा गरिदिएका थिए। राष्ट्रपतिको सोही निर्णयविरुद्ध टीकादुर घटनामा मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गराएकी थिइन्।

जेठ १६ गते दर्ता गरिएको रिटमा जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चौधरीको बाँकी कैद मिनाहा गर्नुको कारण माग गर्दै मुद्दालाई अग्राधिकार दिने आदेश भएको थियो। राष्ट्रपति कार्यालयबाट चौधरीको बाँकी कैद मिनाहा गर्नुको कारणसहितको जवाफ सर्वोच्च अदालतमा पेश गरेपछि कात्तिक २३ गतेका लागि पेशी तोकिएको थियो।

यसअघि सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी कैद कट्टी गराएका नेपालगञ्जमा रिगल भनिने योगराज ढकालको हकमा भने सर्वोच्च अदालतले राष्ट्रपतिको निर्णय उल्टाउँदै पुनः थुनामा पठाएको छ। योगराज ढकाल र रेशमलाल चौधरीको हकमा भने केही भिन्नता छ । योगराज ढकाल कारागार नियमावलीको नियम अनुसार ४० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएको भन्दै भएको सिफारिसका आधारमा बाँकी कैद कट्टा गरिएको थियो भने रेशमलाल चौधरीको हकमा संविधानको धारा २७६ मा रहेको राष्ट्रपतिको विशेषाधिकारका रुपमा बाँकी कैद मिनाहा भएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *