रेशम चौधरीको रिहाइ माग गर्दै नागरिक उन्मुक्तिका सांसदहरू माइतीघरमा प्रदर्शन गर्ने

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाइ माग गर्दै भोलि (बुधबार) सो पार्टीका १६ जनै सांसदहरूले प्रदर्शन गर्ने भएका छन्। अध्यादेश प्रमाणीकरण हुनुपर्ने मागसहित प्रतिनिधिसभाका चार र प्रदेशसभाका १२ सांसदहरूले भोलि माइतीघरमा प्रदर्शन गर्ने भएका हुन्।

पार्टी प्रवक्ता दामोदर पण्डितका अनुसार नागरिक उन्मुक्तिका सांसदहरूले भोलि शान्तिपूर्ण प्रदर्शन गर्न लागेका हुन्। ‘अध्यादेश प्रमाणीकरण हुनुपर्ने मागसहित हाम्रा सांसदहरूले भोलि शान्तिपूर्ण प्रदर्शन गर्नुहुनेछ। अध्यादेश प्रमाणीकरण नभएसम्मा हामी प्रदर्शनलाई निरन्तरता दिन्छौं।’

रेशम चौधरीसहित राजनीतिक मुद्दाहरूलाई सम्बोधन गर्नका लागि सरकारले गत मंसिर २५ गते अध्यादेश ल्याएको थियो। उक्त अध्यादेश सरकारले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएको छ। राष्ट्रपति कार्यालय भने अध्यादेशको विषयमा अहिलेसम्म केही बोलेको छैन।

यसैबीच थारू कल्याणकारिणी सभाले अध्यादेश प्रमाणीकरणका लागि देशव्यापी दबाबमूलक कार्यक्रम गरिरहेको छ। अहिले प्रत्येक जिल्ला र पालिकास्तरमा अध्यादेश प्रमाणीकरणका लागि दबाबमूलक कार्यक्रम आयोजना भइरहेको सभाका महामन्त्री प्रेमीलाल चौधरीले जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *