सप्तरी-४ मा तेजुलाल चौधरीको ह्याट्रिक

सप्तरीको प्रतिनिधिसभा ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरी तेस्रो पटक विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ४, सप्तरीले सार्वजनिक गरेको नतिजा अनुसार चौधरीले २३ हजार ४९१ मत प्राप्त गरी निर्वाचित भएका हुन्।

उनका निकटतम् प्रतिद्वन्द्वी जसपाका बालकिशोर यादवले १७ हजार ९७७ मत प्राप्त गरेको निर्वाचन अधिकृत विश्वबन्धु पौडेलले जनाए। जनमत पार्टीका सुकदेवप्रसाद साहले १२ हजार ९२५ मत प्राप्त गरे। जसपाका विद्रोही उम्मेदवार कासिम मियाँ १ हजार ७१७ मत ल्याई पाँचौ स्थानमा रहे।

गत निर्वाचनमा एक्लै लडेको कांग्रेसका चौधरीको २४ हजार ११३ मत आएको थियो । उनका निकटतम् प्रतिस्पर्धी राजपाका मृगेन्द्रकुमार सिंह यादवको १४ हजार ८८६ र एमालेका मो. इस्लामको १४ हजार ३०५ मत आएको थियो।

२०७० सालको दोस्रो संविधान सभामा समेत निर्वाचित चौधरी २०७४ सालमा युवा तथा खेलकुद राज्यमन्त्री बनेका थिए। यो नतिजा आएसँगै सप्तरीको प्रत्यक्षतर्फ सबै परिणाम घोषणा भएको छ। जसअनुसार प्रतिनिधिसभामा कांग्रेस २, जनमत र जसपा एक/एक स्थानमा विजयी भएको छ। प्रदेश सभामा जनमत पार्टीले ४, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (एस) र स्वतन्त्रले एक/एक सदस्यमा जित हासिल गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *