थारु संस्कृतिका कार्यक्रम र खानाका परिकारलाई प्रचार गर्छौं : मन्त्री चौधरी

लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकासमन्त्री डिल्ली चौधरीले प्रदेशमा पर्यटन बोर्ड गठनको तयारी भइरहेको बताएका छन्। बोर्ड गठनको प्रक्रिया सुरु भएको बताउँदै मन्त्री चौधरीले केही दिनमा काम सकिने जानकारी दिए।

नेपाल पर्यटन पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले बुटवलमा आयोजना गरेको अन्तर्क्रियामा चौधरीले प्रदेशमा पर्यटन ऐनहरू ड्राफ्ट गर्ने काम भइरहेको बताए। लुम्बिनीको पर्यटन प्रवर्द्धनमा सरोकारवाला निकायसँग समन्वय गरेर अक्षयकोष निर्माण गर्ने र पर्यटन प्रवर्द्धनका नयाँ कार्यक्रम ल्याइने उनको भनाइ थियो।

लुम्बिनी प्रदेशअन्तर्गत पाल्पाको कालिगण्डकी, रुकुमको सानो भेरी, दाङको बबई, प्युठानको राप्ती, बाँकेको राप्ती सुनारीलगायतका क्षेत्रमा र्‍याफ्टिङ सञ्चालनको लागि अध्ययन थालिएको चौधरीले बताए।

ठाउँअनुसार सांस्कृतिक कार्यक्रम तथा खानाका परिकारलाई प्रवर्द्धन गर्ने गरी अध्ययन थालिएको उनले बताए। ‘दाङ, बाँके र बर्दियामा थारु संस्कृतिका कार्यक्रम तथा खानाका परिकारलाई प्रचार गर्ने, रोल्पा, रुकुममा मगर समुदायको, प्यूठान, अर्घाखाँची र गुल्मीमा बाहुन क्षेत्रीको संस्कृति झल्कने कार्यक्रमहरू ल्याउन प्रदेश सरकारले अध्ययन थालेको छ,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *