दानवीर हेमनारायण चौधरी, जसले प्रशासनिक भवन बनाउन इटहरीमा तीन बिघा जग्गा दान गरे

इटहरी उपमहानगरपालिकाका जग्गादाता इटहरी-४ निवासी दानवीर हेमनारायण चौधरीको निधनमा उपमहानगरले बिहीबार शोक विदा दियो। उपमहानगरपालिका परिसरमा बिहान शोकसभा गरेर उपमहानगरका कार्यालय र वडा कार्यालयलाई विदा दिइएको थियो।

चौधरी परिवारले तत्कालीन इटहरी गाउँ पञ्चायत रहेकै बेला करिब तीन बिघा जग्गा प्रशासनिक भवन निर्माणका लागि दिएका थिए। सोही जग्गामा अहिले उपमहानगरपालिका कार्यालय छ। शोकसभामा बोल्दै उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले स्व हेमनारायण चौधरीको परिवारले इटहरी उपमहानगरको समृद्धि र विकासका लागि पुर्‍याएको योगदानको उच्च प्रशंसा गरे।

उनले इटहरी अस्पताललाई समेत जग्गा प्रदान गर्ने चौधरी परिवारका धर्मनारायण र हेमनारायण चौधरीको सालिक इटहरी अस्पताल परिसरमा भोलिदेखि नै निर्माण थाल्ने बताए। उपप्रमुख लक्ष्मी गौतमले स्व चौधरीको योगदानबारे जानकारी दिइन्। जग्गादाताका नाममा स्मृतिभवन, सभाहल बनाउने नीतिगत निर्णय भएको जानकारी पनि दिइन्।

वडा नम्बर ४ का अध्यक्ष चन्द्र भट्टराईले स्व चौधरी दानवीर हुनुका साथै सामाजिक, राजनीतिक व्यक्तित्वसमेत रहेको प्रष्ट्याए। स्व चौधरीको परिवारका तर्फबाट सोनेलाल चौधरी र नगेन्द्र चौधरीले शोकसभा गरेर शोकविदासमेत दिएकोमा उपमहानगरलाई धन्यवाद दिए।

इटहरी उपमहानगरपालिका, इटहरी अस्पताल, राधाकृष्ण मन्दिर, बुधबारे र आइतबारे हटिया लगायतलाई जग्गा प्रदान गर्ने चौधरी परिवारका हेमनारायण चौधरीको अस्ति उपचारका क्रममा विराटनगरमा निधन भएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *