बुढीसँगको विवादबारे बोले रेशम- दुई घन्टा वार्ता गरेँ, उनी टस कि मस भइनन्

एमाले-माओवादी गठबन्धन बनेसँगै नागरिक उन्मुक्ति पार्टी चर्चामा छ। नयाँ गठबन्धनमा जाने/नजाने विषयले श्रीमान श्रीमतीबीच चर्को मतभेद रहेको छ। मंगलबारमात्रै पार्टी अध्यक्षसमेत रहेकी संसदीय दलका नेता रञ्जिता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरिन्, त्यसको केही मिनेटमै बहुमत संस्थापक सदस्यहरूले सरकारमा नजाने र प्रतिपक्षमा बस्ने निर्णय गरे। यसले पनि नागरिक उन्मुक्तिभित्र चर्को मतभेद रहेको पुष्टि हुन्छ।

यसैबीच पार्टीका जन्मदाता रेशम चौधरीले लामो स्टाट्स लेखेर श्रीमतीलाई सम्झाउन नसकेको उल्लेख गरेका छन्। श्रीमतीलाई सम्झाउनकै लागि आफू काठमाडौंसम्म आएको उनले भनेका छन्।

‘म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ। दुई घन्टा वार्ता गरेकै हुँ। उनी टस कि मस भइनन्। उनको भनाइ छ- प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे। हामीले उनको साथ छोड्नुहुन्न। अरे लाटी, टिकापुर घटनापछि पनि प्रचण्ड दुईपटक प्रधानमन्त्री भएकै थिए। हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो तर हामी रिहा भएनौं नि। अहिले पनि कसैको कृपाले राजबन्दी रिहाई गरेका होइनन्, दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाई भएका हौं। तिमी पनि मन्त्री भएकी हौ,’ रेशमले भनेका छन्। उनले नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयबाट केही नहुने उल्लेख गरेका छन्।

उनले आफूले जन्माएको बच्चा (पार्टी)को घाँटी निमोठेर हत्या गर्रन नसकिने बताएका छन्। त्यसैले कसैलाई भोट नहाल्न पनि उनी श्रीमतीलाई आग्रह गरेका छन्। ‘मैले तिमीलाई सम्झाउन सकिन प्रिय। आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दिनँ। आज लोग्ने स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन्। मलाई चिन्ता यसैमा छ, तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न। आज जतिले मन दुखाएका छन्, ती हामीलाई हृदयदेखि चाहनेवाला हुन्। मलाई भोट हाल्, मलाई भोट हाल भन्नेहरू हामीलाई डुबाउने वालामात्रै हुन्। मेरो कुरा मान्ने हो भने कसैलाई भोट नहालौं टण्टै साफ,’ उनले भनेका छन्।

रेशमले लेखेको स्टाट्स

बिषय जित हारको होइन,
आज जिते प्रचण्ड,ओली जित्लान् । भोलि फेरी देउवा जित्लान् ।
सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिध्याउने नै हो । त्यसैले हामी कसैका पछाडी नलागौँ,आफ्नो पार्टी निर्माणमा जुटौँ ।
सन्दर्भ : घर झगडा हुँदै होइन,बिषय राजनैतिक हो । मैले जानेको बुझेको यहि हो । जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो ।
आज पनि हेर्नुस् , एमाले,माओवादी,कांग्रेस । यी ठुला दलका नेता,कार्यकर्ता सांसद कतै चलमलाएका छन र ? तर एकीकृत समाजबादी,जसपा,नाउपा,लोसपा,रास्वपा,राप्रपा जस्ता साना दलमा कत्रो भुँईचालो गएको छ ?
त्यसैले कुरा बुझौं,कुनैपनि गठबन्धनका पछाडी नलागौँ ।
नागरिक उन्मुक्ति पार्टी कांग्रेस कम्युनिस्ट होइन,भौगोलिक सांस्कृतिक पहिचान सहितको संघीयताका लागि समुदायमा आधारित समाजबाद प्रत्युत्पादनका लागि जन्मेको पार्टी हो । त्यसैले एक अर्कोमा हिलो छ्यापाछ्याप नगरौँ । आफ्नो नीति सिद्धांत अनुरुप चलौँ ।
कुरो रह्यो बुढाबुढिको । म उनलाई सम्झाउन कैलाली बाट काठमाडौं आएकै हुँ । दुई घन्टा वार्ता गरेकै हुँ,उनी टस कि मस भैइनन् । उनको भनाइ छ – प्रचण्डले हाम्रो राजबन्दि रिहाइ गरे,हामीले उनको साथ छोड्नुहुन्न ।
अरे लाटी, टिकापुर घटना पछि पनि प्रचण्ड दुइचोटी प्रधानमन्त्री भएकै थिए,हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो तर हामी रिहा भएनौँ नि । अहिलेपनि कसैको कृपाले राजबन्दी रिहाई गरेका होइनन् ,दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाई भएका हौँ र तिमी पनि मन्त्री भएकि हौ । नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयबाट हामिले केही उख्ल्नेवाला छैनौँ । जताबाट पनि भलो ठुलै दलको हुने हो,हामी एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो ।
मैले तिमिलाई सम्झाउन सकिन प्रिय र आफुले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन । आज लोग्ने स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन् । मलाई चिन्ता यसैमा छ,तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न । आज जतिले मन दुखाएका छन् ती हामीलाई हृदय देखि चाहनेवाला हुन् । मलाई भोट हाल्,मलाई भोट हाल भन्नेहरु हामीलाई डुबाउने वाला मात्रै हुन् । मेरो कुरा मान्ने हो भने कसैलाई भोट नहालौँ टण्टै साफ ।
हो,जेलमा मैले लेखेको बिधानले आज पार्टी चलेको छ । तर मैले सबैको सदुपयोगीका लागि बिधान लेखेको हुँ,दुरुपयोगका लागि होइन । अहिले बिधानको कारण देखाएर निर्वाचन आयोगले जुन निर्णय गरेको छ त्यो अत्यन्त दुर्भाग्यपूर्ण छ । सबै कानुन जान्नेलाई थाहा छ,महाधिवेशन बिधान भन्दा माथी हुन्छ । सत्ता को सदुपयोग या दुरुपयोग क्षणिक हो तर जनता जनार्दन हुन् । यसका बारेमा अदालतले केहिदिनमा अवस्य न्याय देला ।
# तर याद रहोस्,केन्द्रीय कमिटीको निर्णय नमान्नेलाई कार्वाही गर्नुपर्छ र कार्वाही भोग्नुपर्छ । सबैलाई लागेको होला,केन्द्रीय समितिको निर्णय मैले गराएको हुँ । यो सोच्दै हुनुहुन्छ भने तपाई भ्रममा हुनुहुन्छ । उहिले भन्न सक्दिन अहिले केन्द्रीय समितिले स्वतन्त्र भै निर्णय गरेको हो । अब हरेक निर्णय यसरी नै स्वतन्त्र भै गर्नुपर्छ ।
मेरा कारण लाखौं जनताको मन दुखेको मलाई अनुभुत भएको छ,त्यसकारण म क्षमा चाहन्छुँ तर पहिचानको आन्दोलनको सिपाही हुँ । कहिल्यै हार मान्नेवाला छैन । म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ । रन्जितालाई सम्झाउन नसक्नु मेरो विवसता हो,हार होईन ।
मान्नैपर्छ, दुख दैबले मेरो थाप्लोमा थुपारेरै पठाएको हो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *