केपी ओली र माधव नेपालबीच ‘वाकयुद्ध’, गठबन्धनमा पर्नसक्छ असर

सत्ता साझेदार दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालबीच तितक्ता देखिएको छ। सुदूरपश्चिम सरकार गठन प्रक्रियालाई लिएर उनीहरूबीच ‘वाकयुद्ध’ सुरू भएको हो। पछिल्लो समय उनीहरू सार्वजनिक कार्यक्रममै खुलेरै एकअर्काको आलोचना गरिरहेका छन्।

वैशाख पहिलो साता गठबन्धनमा भएको सहमतिअनुसार सुदूरपश्चिममा आफूले मुख्यमन्त्री नपाएपछि एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मण किशोर चौधरीलाई कांग्रेससँग मिलेर समर्थन गरेको थियो। गठबन्धनले सहमति लत्याएको भन्दै माधव नेपालको निर्देशनमा एकीकृत समाजवादीले नागरिक उन्मुक्तिलाई समर्थन गरेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहालको दबाबमा ओलीले एकीकृत समाजवादीलाई मुख्यमन्त्री बनाउन सहमति दिए पनि दीर्घी सोडारीलाई लिएर बखेडा झिकेका थिए।

अन्ततः सोडारीलाई मुख्यमन्त्री बनाए पनि ओलीले एमालेलाई सरकार बाहिरै राखेको अवस्था छ। हुनतः यसबीचमा मावध नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्तासमेत गरेका छन्। सुदूरपश्चिममा माधवले कांग्रेसलाई तयारी अवस्थामा राखेको पनि बुझिन्छ।

माधव नेपालको त्यही गतिविधिलाई ओलीले दक्षिणपन्थी अवसरवादको रूपमा चित्रण गर्न थालेका छन्। उनले माधव नेपाललाई लक्षित गर्दै भनेका छन्, ‘कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने, वामपन्थी सरकार ढाल्ने र पूँजीपति वर्गको नेतृत्वमा सरकार बनाउन निर्णायक भूमिका खेल्ने दक्षिणपन्थी अवसरवाद निकै कमजोर भयो र जनमतबाट अस्वीकृत भयो। हाम्रो पार्टीविरुद्ध प्रयोग गर्न खोजिएको कथित प्रतिगमनको भाष्य झुटो थियो खण्डित भयो।’

यता माधव नेपालले जति बेला पनि गठबन्धन भत्किने चेतावनी दिँदै आएका छन्। गठबन्धनभित्र आफूहरूलाई ‘प्रायोरिटी’मा नराखेको भन्दै माधव नेपालले अरुले गरेको निर्णय एकीकृत समाजवादीले नमान्ने बताए। रौतहटमा आयोजित कार्यक्रममा उनले भने, ‘हामी कसैको दास होइनौं। कसैको इशारामा चल्ने व्यक्ति पनि होइनौं। हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन वा बेवास्ता गर्‍यो भने उसले ठूलो मूल्य चुकाउनुपर्छ। कुरा बुझ्यो भने ठीक छ। नत्र सबै उल्टिन्छ र देशमा अर्को उथलपुथल हुन्छ।’ उनले गठबन्धन जुट्ने र फुट्नेक्रम जारी रहेकाले कति दिन यो गठबन्धन टिक्ने थाहा नभएको बताउँदै आएका छन्।

ओलीको क्रियाकलापलाई इंगित गर्दै माधव नेपालले थपे, ‘हामीले सहज मानिरहेका छैनौं। सहज अवस्था अनुभूत गरिरहेका छैनौं, हामी कसैको धाक धम्की गालीगलौज सहनका लागि जन्मेका होइनौं। दास बन्ने नियतले राजनीतिमा आएका पनि होइनौं।’ उनले आफूहरूमाथि अपमान गरेको त्यसको बदला लिने पनि धम्की दिँदै आएका छन्।

माधव नेपालले केपी ओलीका नाममा हुँदै आएका फुटबल र क्रिकेटको पनि प्रतिकार गरेका छन्। उनले केपी ओलीका नाममा कुनै पनि खेलकुद प्रतियोगिता हुन नदिन सम्बन्धित निकायलाई आग्रह पनि गरे।

पछिल्ला केही दिनमा यी दुई नेताले एकअर्कालाई लक्षित गरेका टीप्पणी पनि उनीहरूबीच ठूलै ‘वाकयुद्ध’ चलिरहेको भान हुन्छ। यसले सुदूरपश्चिम प्रदेश सरकार र समग्र गठबन्धनमा कस्तो प्रभाव पार्ला भविष्यमा थाहा भइनैहाल्नेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *