रेशमको दाबी- नयाँ गठबन्धनसँग सुदूरपश्चिममा मुख्यमन्त्री पाउने सहमतिपछि विश्वासको मत दिन निर्देशन दिएको हुँ

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले एमाले-माओवादी गठबन्धनसँग सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री पाउने सहमति भएको दाबी गरेका छन्।

उनले सुदूरपश्चिममा मुख्यमन्त्रीसँगै भौतिक पूर्वाधार र एक राज्यमन्त्री पाउने सुनिश्चिततासमेत भएको उनको दाबी छ। त्यतिमात्र होइन, लुम्बिनी प्रदेशमा पनि भौतिक पूर्वाधार र अर्थमन्त्री र केन्द्रमा एक मन्त्री पाउने सहमति भएको उनले दाबी गरे।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग उक्त सहमति भएको खुलाए। ‘नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने/नदिने विषयमा प्रधानमन्त्रीज्युले पटक-पटक मसँग सम्पर्क गर्नुभयो। मैले पार्टीको मागबारे प्रधानमन्त्रीलाई जानकारी गराएको थिएँ। उहाँले आज विहान मलाई बोलाएर केन्द्रसँगै सुदूरपश्चिम र लुम्बिनीको भागबण्डा सुनिश्चित गर्नुभएको छ,’ उनले भने।

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने नदिने विषयमा श्रीमान श्रीमतीबीच मतभेद रहँदै आएको थियो। मंगलबारमात्रै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठले विश्वासको मत दिन ह्वीप जारी गरेकी थिइन् भने बहुमत संस्थापक सदस्यले गठबन्धनमा नजाने र प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री दाहालसँग सहमति भएसँगै रेशमले आफ्ना सांसदहरूलाई विश्वासको मत दिन निर्देशन दिएका छन्। नागरिक उन्मुक्ति पार्टीका सांसदहरू पनि जारी प्रतिनिधिसभा बैठकमा सत्तापक्षको बेन्चमा बसेका छन्। आफ्ना केही सांसदहरूको मन्त्री बन्ने चाहना र सरकारलाई समर्थन गर्न कार्यकर्ताको चाहनासमेत रहेको भन्दै उनले प्रधानमन्त्रीसँग बलियो सम्झौता गराएको दाबी गरे।

पार्टी संरक्षक चौधरील आज विहानमात्रै फेसबुकमा स्टाट्स लेख्दै ठूला दल भनिएका कांग्रेस, एमाले र माओवादीले साना दलहरूलाई समाप्त पार्ने षडन्त्र गरिरहेको उल्लेख गरेका थिए। सोही कारण नयाँ गठबन्धनलाई विश्वासको मत नदिने पक्षमा रहेको उनले खुलाएका थिए।

आफ्नो अनुपस्थितिमा पार्टी अध्यक्षसमेत रहेकी रञ्जितालाई ठूला दलहरूले खेलौना बनाएको भन्दै रेशम चौधरीले यसपटक आफैंले अग्रसरता लिएको बताए। ‘पार्टीभित्र नेता कार्यकर्ताहरूको चाहना पनि मैले इनिसियसन लिइदिए हुन्थ्यो भन्ने थियो। त्यसैले संबाद नगरेसम्म हामी विश्वासको मत नदिने पक्षमा थियौं। तर प्रधानमन्त्रीजी आफैंले फोन गरेर बोलाएर सहमति गर्नुभयो। सहमति भएसँगै नयाँ गठबन्धनमा जाने वातावरण बनेको छ,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *