प्रचण्डले यसपटक पनि थारुलाई बनाएनन् मन्त्री

नेकपा माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको छ। बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको हो। यसपटक पनि थारु समुदायबाट कसैलाई मन्त्री बनाइएन। मन्त्रीका लागि अमलाल मोदी र हरिराम चौधरी ‘उत्सव’को नाम चर्चामा आए पनि उनीहरु मन्त्रीका लागि योग्य भएनन्। यसबाट थारु समुदायका नेताहरु रुस्ट भएको बताइएको छ।

बैठकमा मन्त्रीहरुको नाम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका थिए भने नारायणकाजी श्रेष्ठले समर्थन गरेका थिए। प्रवक्ता कृष्णबहादुर महराका अनुसार मन्त्रालयहरु भने टुंगो लागेको छैन। यद्यपि भूमि व्यवस्था, श्रम र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने सम्भावना छ। मन्त्रालय टुंगो लगाउने जिम्मा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुलाई दिइएको महराले जानकारी दिए।

माओवादी केन्द्रको भागमा ५ मन्त्री र एक राज्यमन्त्री परेको थियो। २९ असारमा प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिएकै दिन जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल उर्जामन्त्री बनेकी थिइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *