गृहजिल्ला पुगेर गच्छदारले भने- दोषी माने फाँसीमा चढ्न तयार छु

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूलाई जनताले दोषी माने फाँसीमा चढ्न तयार रहेको बताएका छन्। विराटनगर उत्रिएका गच्छदारले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै जनताले आफूलाई भ्रष्टाचार गरेको आरोप सही मान्छन् भने मृत्युदण्डको भागिदार हुन तयार रहेको बताएका हुन्।

‘ललिता निवास जग्गा प्रकरणमा निर्दोष छु तर राज्यले जबरजस्ती फसाएको हो, मैले राज्यको एक लाल पैसा हिनामिना गरेको छैन,’ उनले भने, ‘चुनौती दिन चाहन्छु मेरो ५१ वर्षको राजनीतिक इतिहासको खोजी होस् । कुनै पनि अनियमितता गरेर सम्पति आर्जन गर्ने काम गरेको छैन।’

ललिता निवास जग्गा प्रकरणमा राज्यको कठपुतली भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जबरजस्ती मुद्दा चलाएकाले अदालतबाट न्याय पाउने उनले विश्वास व्यक्त गरे। ‘कानुनी राज्यका लागि लडाईं लडेको व्यक्ति हुँ र स्वतन्त्र न्यायालयप्रति मेरो अगाध विश्वास छ,’ उनले भने, ‘त्यसैले स्वतन्त्र न्यायालयले मलाई न्याय दिन्छ नै र ममाथि जुन अन्याय भएको छ त्यसमा न्याय पाउनेछु ।’

ललिता निवासको सरकारी जग्गा व्यवस्थित गर्ने गुरुयोजना सैद्धान्तिक सहमतिका लागि मन्त्रिपरिषदमा प्रस्ताव मात्रै लगेको आधारमा राज्यको इसारामा अख्तियारले जबरजस्ती मुद्दा लगाउन पाइन्छ ? गच्छदारले प्रश्न गरे ।

यो मन्त्रिपरिषदले निर्णय गरेको विषय हो, मन्त्रिपरिषद विजय गच्छदारको होइन, म एउटा सदस्य मात्रै हुँ,’ उनले भने, ‘तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा अहिलेका राष्ट्रपति विद्यादेवी भण्डारी रक्षामन्त्री हुनुहुन्थ्यो, सुजाता कोइराला उपप्रधानमन्त्री, गृहमन्त्री भीम रावललगायतको निर्णय हो त्यो । मेरो मात्रै निर्णय होइन ।’

तत्कालीन राज्यसँग त्यो ताकत थियो भने मन्त्रिपरिषदको अध्यक्ष प्रधानमन्त्रीलाई कारवाही गरेर देखाउन सक्नु पर्ने भन्दै गच्छदारले आक्रोश पोखे। ‘तर प्रधानमन्त्रीलाई कारबाही हुँदैन, अहिले पनि हुँदैन र हुनु पनि हुँदैन किनकि त्यो मन्त्रिपरिषदको निर्णय हो,’ उनले भने, ‘मन्त्रिपरिषदको निर्णयउपर अख्तियारले छानविन, अनुसन्धान तहकिकात पनि गर्न सक्दैन । त्यो कानुनी रुपमा निषेध छ।’

मन्त्रिपरिषद निर्णयमाथि तहकिकात गर्न नसक्ने अख्तियारले विजय गच्छदारलाई एक्लै पारेर थारुको छोरा, आदिवासी जनजाति, मधेसी सम्झेर लगाइएको मुद्दा होइन भन्दै उनले प्रश्न गरे। मन्त्रिपरिषदले गरेको निर्णयमा मुद्दा लाग्दैन भने कसैलाई पनि लाग्दैन र लाग्छ भने सबैलाई लगाएर देखाउन गच्छदारले चुनौति दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *