प्रचण्डलाई एमाले सचेतक शान्ता चौधरीको आरोपै आरोप

एमाले सचेतक शान्ता चौधरीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अझै एमाले फुटाउन लागिपरेको बताएकी छन्। उनले सामाजिक सञ्जालमा प्रचण्डको कुरामा नबहिकन एमाले नेताहरुलाई आग्रह गरेका छन्।

‘कमरेड प्रचण्डको असली प्रवृत्ति सच्चिएन। कमरेडहरु, प्रचण्डले आज पनि एमाले फुटाउन उत्तेजित बनाउने गरी जे गर्दै हुनुहुन्छ र जस्तो अभिव्यक्ति दिँदै हुनुहुन्छ, अब बहकिन जरुरी छैन,’ चौधरीले लेखेकी छन्।

पढ्नुस् उनले एमालेजनलाई आह्वान गरेको बकत्वय

कमरेडहरू, कठोरताको पराकाष्ठाको रूप कस्तो हुँदो रहेछ देखियो । सरकारको दुई वर्षको कार्यकालपछि देखियो निर्मम दृश्यहरू । सरकारले गरेको राम्रो काम बारे प्रचार गर्नको साटो कमजोरीहरू खोज्दै हिँड्ने, मिडियामा दौडेर गएर अन्तर्वार्ता दिने, नभएको मिथ्या आरोप लगाउने सायद प्रतिपक्षले पनि त्यति धेरै गरेन होला । जसले सरकारका राम्रो कामबारे लेख्छ र बोल्छ उनीहरूलाई हाम्रै कमरेडहरूबाट हतोत्साही बनाउने काम भयो । त्यो पीडा खेप्ने मध्यको म एक हो ।

मेरो कुनै स्वार्थ थिएन, पार्टीको सबल पक्षको प्रचार गर्ने, नेतृत्वको सबल पक्षको प्रचार गर्ने, सरकारको राम्रो कामको प्रचार गर्ने यो काम सबैले गरेको भए सबैको हित र आन्दोलनको जीत हुने थियो । हो मैले त्यही गरें, आज मात्रै होइन हिजो माधव नेपाल र झलनाथ खनालले नेतृत्व गर्दा पनि यसैगरी साथ दिएको हो ।

कमरेडहरू, सबैका सामु छर्लङ्ग भएको कुरा अब धेरै नकोट्याउँ । पार्टी एकीकरणपछि तीन वर्ष संगठन चलेन । भक्तपुर, धरान र चितवनको प्रदेश र स्थानीय तहको उपनिर्वाचनको परिणामले बतायो की एकताले फाइदा होइन नोक्सान गर्‍यो । कमरेड प्रचण्डको असली प्रवृत्ति सच्चिएन ।

हाम्रा आदरणीय नेताहरूसमेत निर्ममता पूर्वक सरकार र पार्टी अध्यक्षका विरुद्ध उभिनु भयो । त्यति मात्रै होइन पार्टीका अध्यक्षलाई साधारण सदस्यबाट निश्कासन गर्न पनि पछि पर्नु भएन । यी सबै तिता कुरा छोडौं । मलाईसमेत कारवाही गरेको पनि बिर्सिदिउँला । आज हामी सबै एमाले भएका छौं । प्रसव पीडाबाट मुक्त भएको अनुभूति भएको छ । अब कमरेडहरू प्रचण्डले आज पनि एमाले फुटाउन उत्तेजित बनाउने गरेर जे गर्दै हुनुहुन्छ र जस्तो अभिव्यक्ति दिँदै हुनुहुन्छ, अब बहकिन जरुरी छैन ।

आज कमरेड केपी ओली र माधवकुमार नेपाल दुई पक्षीय नेता कमरेडहरूको बीचमा वार्ता हुनु अत्यन्तै सकारात्मक कुरा हो । यसले सकारात्मक सन्देश पनि दिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्षले बोलाएको चियापानमा सहभागी हुन आउनुहोस् हाम्रा बीचमा हार्दिकता बढाएर जाउँ । चैत्र ७ गतेको बैठकमा आउनुहोस् सबै समस्यालाई विधिसम्मत हल गरौँ र एकताबद्ध एमाले बनाऔँ ।

माओवादी केन्द्रका साथीहरू जो जालझेल र षड्यन्त्रबाट मुक्त भइ कम्युनिस्ट आन्दोलनको मुलधारमा रहन चाहनुहुन्छ, उहाँहरूलाई सम्मानजनक तरिकाले सँगै बस्न आव्हान गरौँ । अहिले कमरेड केपी ओलीकै नेतृत्वमा वैचारिक रूपले सहमत भएर रहनुहुने कमरेडहरूलाई उपयुक्त जिम्मेवारी दिइएको कुरामा सबै सकारात्मक बनौँ । विस्तारै सबै कुरा मिल्दै जानेछ । सल्लाह हुँदै जाँदा जिम्मेवारीको विषय पनि मिल्दै जानेछ । संयम बनौं, फेरि अधैर्य नबनौँ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *