संविधानमाथि हमला गर्ने केपी ओली पराजित, जनताको जीत : अमनलाल मोदी

नेकपा नेता अमनलाल मोदीले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै जनताको जित भएको बताएका छन्। थारुवानसँग कुरा गर्दै सांसदसमेत रहेका मोदीले जनताको भावनाअनुसार सर्वोच्च अदालतले फैसला सुनाएको बताए।
‘प्रधानमन्त्री केपी शर्मा ओली जुन असंवैधानिक तरिकाले संसद विघटन गर्नुभएको थियो, सर्वोच्च अदालतले हामीले लेखेको संविधानको मर्मअनुसार, जनताको भावनालाई कदर गर्दै फैसला गरेको छ। जुन सम्मानजनक र स्वागतयोग्य छ,’ उनले भने।

यो देशलाई अस्थिरतातर्फ लैजान खोज्ने, पश्चगमनतिर लैजान खोज्ने, संविधानलाई ध्वस्त पार्न खोज्ने, संविधानमाथि हमला गर्ने खोज्ने र जुन तरिकाले असंवैधानिक तरिकाले नियुक्तिहरु गरिरहेका थिए, तानाशाह प्रवृत्ति देखाइरहेका थिए, उनीहरु पराजित भएको उनले बताए। उनले अब देश नयाँ शिराबाट समृद्धिको बाटोमा जाने बताए।

‘यो देशमा विकास र समृद्धि त हुन्छ हुन्छ। तर के भने केपी ओलीजस्तो तानाशाह प्रवृत्ति जबसम्म समाजले परास्त गर्दैन, जबसम्म जनताले त्यस्ता तत्वहरुलाई चुनावमा भोट नदिएर पराजित गर्दैन, तबसम्म भोलिका दिनमा पनि त्यस्ता अराजक र तानाशाह तत्वहरु मौलाइरहन्छ,’ उनीले प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै भने। त्यसका लागि लोकतन्त्रमा सबै जनता सचेत हुनुपर्ने उनले बताए।

उनले अब पनि ओली नसुध्रिए वा अनेक ढंगबाट सत्ता कब्जा गर्ने प्रपञ्च रचे इतिहासकै कंलक नेताको रुपमा धब्का लाग्ने बताए। ‘असंवैधािन कदम चालेर देशलाई बर्बादतिर त लगे लगे, अब पनि संकटकाल लगाउने, सत्ता कब्जा गर्ने प्रपञ्च रचे इतिहासकै कंलक नेता बन्ने निश्चित हुन्छ,’ उनले भने।

अबको प्रधानमन्त्री को बन्ला भन्ने प्रश्नमा मोदीले आफूहरुले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको बताए। उनले प्रचण्ड नै प्रधानमन्त्री बन्ने नबताए पनि अबका प्रधानमन्त्री उनै हुने उनले संकेत गरे। तर अब बन्ने सरकारमा नेपाली कांग्रे, जनता समाजवादी पार्टीको पनि सहभागिता हुने  किसिमको छलफल हुनुपर्ने उनको भनाइ थियो।

 

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *