टीकापुर घटनाका योजनाकार रेशम चौधरी होइनन्, अरु नै छन् : मन्त्री लेखराज भट्ट

थरुहट/थारुवान आन्दोलन र टीकापुर घटनाबारे सुन्नै नचाहने र बोल्नै नचाहने संघीय सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले अन्ततः मुख खोलेका छन्। नेकपा फुटले सिर्जित राजनीतिक संकटका बीच मन्त्री लेखराज भट्टले टीकापुर घटनाबारे मुख खोलेका हुन्।

ओली समूह निकट प्रेस संगठन नेपालको सुदूरपश्चिम प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै मन्त्री भट्टले टीकापुर घटनाका प्रमुख योजना भनिएका तथा अदालतबाट जन्मकैद सजाय पाएर जेल जीवन भोगिरहेका रेशमलाल चौधरीलाई निर्दोष भएको दाबी गरे।

उनले सम्बोधनको क्रममा भने, ‘टीकापुर हत्याकाण्डबारे यथार्थ चिज बाहिर आएको छैन। कोबाट हो? रेशम चौधरीलाई हल्या छ, उसमा। रेशम चौधरी योजनाकार हुन् कि, होइनन् मलाई शंका छ। अरु नै हुनजस्तो लाग्छ मलाई। यी चिजहरु अध्ययन गरेर रिपोर्टहरु हाम्रो सरकारले सार्वजनिक गर्न जरुरी छ। निर्दोषलाई बाहिर निकाल्ने र दोषीलाई भित्र हाल्ने कुरामा पछि पर्नुहुन्न भन्ने मैले त्यो सोचेको छु। अस्ती प्रधानमन्त्री ज्यूले पनि केही भन्नुभयो।’

यद्यपि मन्त्री भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले टीकापुर घटना मुद्दा अदालती प्रक्रियामा रहेकाले केही गर्न सकिन्न भनिरहँदा मौनता साधेर बसेका थिए।

यसअघि प्रधानमन्त्री ओलीले भनेका थिए, ‘यहाँ जात–जातको बीचमा मारमारको अवस्था ल्याए। टीकापुर काण्डको विभिन्न ढंगले रचना गरियो। नक्कली मान्छे ल्याए, उचाले, जनताको बीचमा कसैले थारुको नारा लगाए, कसैले पहाडियाका। जनता–जनतामा विभाजन ल्याउन खोजे। अहिले पनि कतिपय थारु नेता जेलमा छन्। कसैलाई वारेन्ट होला। यी सबै हामीले हेरिरहेका छौ। पहिले नै अदालती प्रक्रियामा गइसकेका, पहिले नै असहज कुरामा फसिसकेकालाई किनारामा नलगाइ केही गर्न सकिने हुँदैन, कानुनी हिसाबले।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *