थाकस चितवनको १२औं अधिवेशन तयारी पूरा, सांसद महतोले उद्घाटन गर्ने

थारु कल्याणकारिणी सभा (थाकस) चितवनको फागुन २४, २५ र २६ गते हुने १२औं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । १२ औं अधिवेशन मूल आयोजक समितिका संयोजक एवं थाकस चितवनका सभापति विश्राम महतोले अधिवेशनको सबै तयारी सम्पन्न भैसकेको बताए ।
भरतपुर महानगरपालिका वडा नं. २२ पटिहानीको धनौजीमा हुन गइरहेको अधिवेशन चितवन क्षेत्र नं. ३ (ख) निर्वाचित प्रदेश साँसद रामलाल महतोले उदघाटन गर्नेछ । उदघाटन अगाडि झाँकी ¥याली सहितको शोभायात्राले स्थानीय बजार परिक्रमा गर्ने जनाइएको छ । उदघाटन समारोहमा चितवनमा बसोबास गरी संगठित भएका सम्पूर्ण आदिवासी जनजातिका छाता संगठनहरुका प्रनिनिधिहरुलाई आमन्त्रण गरिएको छ ।

२४ गते हुने उद्घाटन समारोहमा थारुलगायत विभिन्न जातजातिका साँस्कृतिक नाचगीत र अतिथिहरुको शुभकामना मन्तव्यका लागि समय छुट्याइएको छ । सोही दिन थाकसले भरतपुरमा निर्माण गरेका थारु छात्रावास निर्माणका लागि सहयोग गर्ने विभिन्न व्यक्तिहरु, स्थानीय निर्वाचनमा निर्वाचित प्रमुख र उपप्रमुखहरु र दुईजना थारु पत्रकारहरुलाई सम्मान गरिने सभापति विश्राम महतो बताए ।

२५ र २६ गतेका दिन थाकसको आर्थिक प्रतिवेदन, कार्यप्रगति प्रतिवेदन, साँगठनिक प्रतिवेदन र भावी कार्ययोजनाका साथै समुदायका समसामयिक विषयहरुबारे व्यापक बहस, छलफल र निर्णय गर्दै निर्वाचन सत्रमा आगामी कार्यकालका लागि नयाँ जिल्ला कार्यसमिति र केन्द्रीय परिषद सदस्यहरुको निर्वाचन गरिनेछ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *